खेमराज भट्ट,
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयले स्वीकृत निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२ अनुसार योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
दरखास्त २०८२ पुस २५ देखि माघ १ गतेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका प्रहरी परिसरहरूमा दिन सकिनेछ। आवेदनकर्ताको उमेर १८ देखि ५४ वर्ष भित्र हुनुपर्नेछ।
पूर्व सुरक्षाकर्मी, यसअघि म्यादी प्रहरीका रूपमा काम गरेका व्यक्ति तथा सुरक्षातर्फको शारीरिक परीक्षण उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ। छनौट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म चल्नेछ भने माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ।
निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत प्रतिव्यक्ति करिब ३४ हजार ७ सय रुपैयाँ तलब, खाद्यान्न, खाजा, तयारी खर्च तथा पोशाक भत्ता उपलब्ध गराइनेछ। तालिम माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुने नेपाल प्रहरीले जनाएको छ।
