रिलिशा राजवंशी माघ १
बाँके — डुडुवा गाउँपालिका वडा नम्बर ४ खालेमसाहमा नाबालिकामाथि जबरजस्ती करणी भएको घटनामा प्रहरीले एक जना प्रतिवादीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रहरीका अनुसार, मिति २०८२ पुस १७ गते बिहान करिब २ बजे घटेको भनिएको उक्त घटनासम्बन्धी जाहेरी मिति २०८२ पुस २२ गते हुलाकमार्फत प्राप्त भएको थियो। प्रारम्भिक जाहेरीमा पाँच जनाको समूह संलग्न रहेको उल्लेख भए पनि, जाहेरीको सनाखतका क्रममा पीडित नाबालिकाले दबाब तथा प्रभावमा परी गलत विवरण पठाइएको स्वीकार गर्दै नयाँ जाहेरी दर्ता गराएकी थिइन्।
नयाँ जाहेरीअनुसार, डुडुवा–४ निवासी अन्दाजी २६ वर्षीय सद्दाम खाँले एक्लैले जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ। जाहेरी दर्ता भएपछि प्रतिवादीलाई भारतको लखनऊबाट नेपालगञ्ज ल्याई प्रहरीले नियन्त्रणमा लिएको हो।
बाँके जिल्ला अदालतबाट भिडियो कन्फरेन्समार्फत पाँच दिनको म्याद थप गरिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल प्रतिवादी प्रहरीको प्रत्यक्ष नियन्त्रणमा रही उपचाररत अवस्थामा छन्।
यसैबीच, सामाजिक सञ्जालमा पीडित नाबालिकाको तस्बिर पोस्ट तथा सेयर गरिएकोप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पीडितको पहिचान सार्वजनिक गर्नु कानुनतः दण्डनीय कार्य भएकाले यस्ता गतिविधि नगर्न तथा नगराउन सबैलाई आग्रह गरिएको छ।
घटनामा प्रहरीले तथ्यपरक अनुसन्धान, कानुनी प्रक्रिया र पीडितको गोपनीयता संरक्षणमा देखाएको सक्रियताले न्यायिक प्रक्रिया सुदृढ हुने अपेक्षा गरिएको छ।

