झापा–५ मा चुनावी माहोल तात्यो, एमाले–रास्वपा कार्यकर्ताबीच झडप

काठमाडौ – झापा निर्वाचन क्षेत्र नम्बर–५ मा मंगलबार दिउँसो राजनीतिक तनाव देखिएको छ। नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच भएको झडपले केही समयका लागि दमक क्षेत्रको वातावरण तनावग्रस्त बनेको हो।
दमकको आकाशे पुल नजिक दुवै दलका कार्यकर्ताको र्‍याली एकै ठाउँमा जुधेपछि अवस्था चर्किएको बताइएको छ। र्‍यालीका क्रममा नारा–जुलुस र आपसी आरोप–प्रत्यारोप बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर जान खोजेपछि केहीबेर झडपको अवस्था सिर्जना भएको थियो। घटनापछि सुरक्षाकर्मीले सक्रियता बढाउँदै दुबै समूहलाई छुट्याएका थिए।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएका बेला यस्तो घटना भएको हो। यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएकाले यहाँको राजनीतिक माहोल थप चासोको विषय बनेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झडप केही समयमै नियन्त्रणमा लिइएको र हाल अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छ। प्रहरीका अनुसार घटनामा ठूलो क्षति नभएको र शान्ति सुरक्षाको व्यवस्था थप कडा पारिएको छ। प्रहरीले सबै पक्षलाई संयमित रहन आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न सहयोग गर्न अनुरोध गरेको छ।
राजनीतिक प्रतिस्पर्धा चर्किंदै जाँदा यस्ता घटनाले चुनावी वातावरणमा असर पार्न सक्ने भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले दलहरूलाई लोकतान्त्रिक अभ्यासको मर्यादा कायम राख्दै स्वस्थ प्रतिस्पर्धामा उत्रिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply