फोहोर हटाउँदै, चेतना बढाउँदै: राजघाट–मोहनापुलमा युवा सरसफाइ अभियान

हेमा भट्ट, फागुन ३०
धनगढी। स्वच्छ वातावरण र सामाजिक जागरणको सन्देश फैलाउने उद्देश्यले धनगढीको राजघाट–मोहनापुल क्षेत्रमा प्रेरणादायी सरसफाइ अभियान सुरु गरिएको छ। एकता युवा क्लबको पहलमा सञ्चालन भएको अभियानमा स्थानीय युवा, सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ।

अभियान अन्तर्गत सडक किनार, सार्वजनिक स्थल तथा नदी आसपासका क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। युवाहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणका साथै सरसफाइप्रति समुदायलाई सचेत बनाउने सकारात्मक सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन्।

कार्यक्रममा समाजसेवी तथा युवा एकता अभियानका युवा सागर खड्काले वातावरण सफा राख्नका लागि मुहानबाटै परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिए। “परिवर्तन अरूबाट होइन, आफ्नै व्यवहारबाट सुरु हुन्छ,” उनले भने, “नाम मात्रै एकता भएर हुँदैन, काममा पनि एकता देखिनु आवश्यक छ।” युवाहरू एकजुट भएर अघि बढे समाजमा ठूला परिवर्तन सम्भव हुने उनको विश्वास थियो।

त्यसैगरी युवा एकता अभियानका संयोजक इन्द्रदेव बोहराले समाज परिवर्तनका लागि युवाको सक्रियता अपरिहार्य रहेको बताए। उनले सरसफाइ अभियान जस्ता सामाजिक कार्यसँगै समाजमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण, विकास निर्माणमा सहकार्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न युवाहरूले पहल गर्नुपर्ने आवश्यकता औंल्याए। समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन युवाबीच एकता, सहयोग र प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी रोमन विकले पनि युवाहरूको एकताले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए। उनले सरसफाइ अभियान केवल एक दिनको कार्यक्रम नभई निरन्तर चलिरहनुपर्ने सामाजिक अभियान भएको उल्लेख गर्दै जिम्मेवार नागरिकका रूपमा सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए।

यसैबीच स्थानीय सरकारको तर्फबाट कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरले सरसफाइ अभियानमा सक्रिय भूमिका खेलेका युवाहरूलाई धन्यवाद व्यक्त गरे। युवाहरूले गरेका यस्ता सकारात्मक कार्यले समाजमा राम्रो सन्देश जाने उल्लेख गर्दै उनले स्थानीय सरकार सधैं युवाहरूको साथमा रहने प्रतिबद्धता जनाए। वातावरण संरक्षण, जनचेतना तथा सामाजिक विकासका कार्यक्रममा स्थानीय सरकार र युवाबीच सहकार्य अझ सुदृढ गरिने उनले बताए।

स्थानीयवासीहरूले युवाहरूको सक्रियता, सामाजिक उत्तरदायित्व र एकताको भावनाले समाजमा उदाहरणीय काम भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्ता अभियानले समाजलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

सरसफाइ जस्ता सामाजिक अभियानले वातावरण सफा बनाउनुका साथै समुदायमा जिम्मेवारी, सहकार्य र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। युवाको एकताले समाज परिवर्तन सम्भव हुन्छ भन्ने सन्देशसहित सुरु भएको यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply