चैत ४
अफ्रिकी फुटबलको सर्वोच्च निकायले एक ऐतिहासिक र विवादास्पद निर्णय गर्दै मोरक्कोलाई सन् २०२५ को ‘अफ्रिका कप अफ नेसन्स’ को विजेता घोषणा गरेको छ।
मैदानमा खेल जितेको सेनेगलबाट उपाधि खोसेर मोरक्कोलाई दिइएको हो।
गत जनवरी १८ मा भएको फाइनल खेलमा सेनेगल र मोरक्को भिड्दै थिए। खेलको अन्तिम समयसम्म दुवै टोलीबाट गोल हुन सकेको थिएन। इन्जुरी समयमा रेफ्रीले मोरक्कोलाई पेनाल्टी दिएपछि विवाद सुरु भयो। सेनेगलका खेलाडी र प्रशिक्षकले सो निर्णयको विरोध गर्दै मैदान छाडेर बाहिरिए।
करिब १७ मिनेटसम्म खेल रोकियो। पछि सेनेगलका खेलाडीहरू मैदान त फर्किए, मोरक्कोका ब्राहिम डियाजले पेनाल्टी प्रहार गरे तर गोल हुन सकेन। त्यसपछि थपिएको अतिरिक्त समयमा सेनेगलका पापे ग्वेले गोल गर्दै आफ्नो टोलीलाई १-० को जित दिलाए। सेनेगलले ट्रफी उचाल्यो र देशमा विजय जुलुस समेत मनायो।
मोरक्को फुटबल संघले नियमअनुसार यो खेलको नतिजा बदल्न अपील गरेको थियो। अफ्रिकी फुटबल महासंघको अनुशासन नियमको धारा ८२ र ८४ अनुसारयदि कुनै टोलीले रेफ्रीको अनुमति बिना खेल नसकिँदै मैदान छाड्छ भने, उसलाई पराजित मानिन्छ।
नियम उल्लंघन गर्ने टोलीलाई प्रतियोगिताबाट हटाउँदै विपक्षी टोलीलाई ३-० को नतिजासहित विजेता घोषणा गरिन्छ।
यही नियमलाई आधार मान्दै महासंघले सेनेगलको जित खारेज गरिदिएको छ र मोरक्कोलाई आधिकारिक विजेता घोषणा गरेको छ।
मोरक्को फुटबल संघले यो निर्णय कसैको खेल प्रदर्शनलाई कम आँक्नका लागि नभई नियमको पालना गराउनका लागि भएको बताएको छ।
सेनेगलले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर उनीहरूले सामाजिक सञ्जालमा ट्रफीसहितको विजय जुलुसको भिडियो पोस्ट गर्दै आफूहरू नै विजेता भएको संकेत गरेका छन्।
उपाधि हात पारे पनि मोरक्कोले आफ्ना मुख्य प्रशिक्षक वालिद रेग्रागुईलाई भने पदबाट हटाएको छ। विश्वकप आउन ४ महिना बाँकी छँदा मोरक्कोले यो कदम चालेको हो।
अब इतिहासको पानामा २०२५ को अफ्रिकन च्याम्पियनका रूपमा सेनेगलको साटो मोरक्कोको नाम लेखिनेछ।
