प्रधानमन्त्री कप : सन्दीपको सात विकेटसँगै बागमतीको सानदार जित

काठमाडौँ, चैत १८ गते । कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ ।

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले कर्णालीलाई ६० रनले हराएको हो । जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो ।

कर्णालीका लागि सनश्चल रावलले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै दिनेश अधिकारीले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र कप्तान दिवान पुनले १० रन बनाउनुभयो ।

बलिङमा बागमतीका कप्तान सन्दीपले ९.१ ओभरका मात्र ४० रन खर्चिएर सात विकेट लिनुभएको हो । रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले एक एक विकेट लिनुभयो ।

यसअघि हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । बागमतीका लागि विवेक रानामगरले सर्वाधिक ५६ रन बनाउनुभयो ।

यस्तै इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसकारले २० र शिभम् तिवारीले १८ रन बनाउनुभयो । बलिङमा कर्णालीका कप्तान दिवान पुनले तीन विकेट लिनुभयो ।

यस्तै प्रकाश जैशी, दिपेन्द्र रावत र निश्चल रावलले दुई दुई विकेट लिनुभयो । यससँगै पाँचौँ खेलमा दोस्रो जित निकालेको बागमतीले चार अङ्क बनाएको छ । पराजित कर्णालीको समान खेलबाट तीन अङ्क छ ।

यस्तै वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनीले विभागीय टोली एपिएफ क्बललाई सुपर ओभरमा हरायो । जितका लागि एपिएफले दिएको एक सय २५ रनको लक्ष्य पछयाउने क्रममा लुम्बिनीले ३५ ओभरका सबै विकेटको क्षतिमा एक सय २४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको एपिएफले ३९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रनको योगफल खडा गरेको थियो । जितसँगै लुम्बिनीले पाँच खेलबाट पाँच नै अङ्क बनाएको छ । एपिएफको समान खेलबाट तीन अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply