खेमराज भट्ट, जेठ २०
महोत्तरीको सोनमा गाउँपालिका-३ खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका समूहसँग प्रतिवाद गर्दा एक दम्पती घाइते भएका छन्।
मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५/६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद गर्ने क्रममा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली लागेर दुवै जना घाइते भएका हुन्।
स्थानीयवासीको सहयोगमा उनीहरूलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था निगरानीमा राखिएको छ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ। घटनापछि आक्रमणकारीहरू फरार भएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ।
चोरीको उद्देश्यले घरमा प्रवेश गरेका समूहले प्रतिवाद भएपछि गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
