हराएको आशा ब्युँतियो: ट्राफिक प्रहरीद्वारा ४० चोरीका सवारी हस्तान्तरण

खेमराज भट्ट, जेठ २०
काठमाडौं – काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४० वटा दुईपाङ्ग्रे सवारी साधन (२५ मोटरसाइकल र १५ स्कुटर) खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। ट्राफिक प्रहरीको सक्रियता र प्रभावकारी अनुसन्धानका कारण लामो समयदेखि हराएका सवारी साधन पुनः मालिकको हातमा पुगेपछि कार्यालय परिसर भावुक र खुसीयालीमय बनेको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी साधनका वास्तविक धनीलाई साँचो हस्तान्तरण गर्नुभयो। उहाँले नागरिकको सम्पत्ति सुरक्षाका लागि ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको बताउँदै चोरी नियन्त्रण र खोजी कार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रहरीका अनुसार प्राप्त निवेदन, प्राविधिक अनुसन्धान तथा विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा सञ्चालन गरिएको विशेष खोजी अभियानका क्रममा केही सवारी साधन वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा उपत्यकाका विभिन्न स्थानबाट बरामद गरिएको थियो।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत साउनयता मात्रै ५०२ वटा चोरी तथा हराएका सवारी साधन धनीलाई फिर्ता गरिएको छ। यस अवधिमा चोरीमा संलग्न ४५ जना व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।

सवारी साधन फिर्ता पाएका धनीहरूले ट्राफिक प्रहरीको सक्रियता, इमान्दारिता र नागरिकप्रतिको उत्तरदायित्वको खुलेर प्रशंसा गरेका थिए। कतिपयले हराएको सवारी फिर्ता पाउने आशा नै मारेको अवस्थामा प्रहरीको प्रयासले पुनः विश्वास जगाएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा एसएसपी अधिकारीले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन तथा जीपीएस जडान जस्ता सुरक्षा उपाय अपनाउन सबैलाई आग्रह गर्नुभयो। उहाँले नागरिक र प्रहरीबीचको सहकार्यले मात्रै चोरी नियन्त्रण प्रभावकारी बन्ने उल्लेख गर्नुभयो।

हराएका सवारी साधन खोजी गरी वास्तविक धनीसम्म पुर्‍याउने ट्राफिक प्रहरीको अभियानले नागरिकमा सुरक्षा अनुभूति बढाएको छ भने प्रहरीप्रतिको विश्वाससमेत थप मजबुत बनाएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply