कञ्चनपुर प्रहरीको सक्रियता: भन्सार छलीका झण्डै ४ लाखका सामान बरामद

हेमा भट्ट,असाेज १६
कञ्चनपुर -;कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब ३ लाख ९५ हजार रुपैयाँ मूल्यका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइहरूले असोज १५ गते सञ्चालन गरेको कारबाहीका क्रममा नरिवल, नुन, मिल्क केक, सोनपापडी, मिठाई, प्लास्टिकका झोला, हार्डवेयरका सामग्री तथा पेय पदार्थ बरामद गरेका हुन्।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ३ लाख ५ हजार ६०० रुपैयाँ, इलाका प्रहरी कार्यालय झलारीबाट ७२ हजार रुपैयाँ र प्रहरी चौकी परासनबाट १८ हजार रुपैयाँ मूल्यका सामान बरामद गरिएको छ। बरामद सामानको कुल अनुमानित मूल्य ३ लाख ९५ हजार ६०० रुपैयाँ रहेको छ।

भन्सार छली नियन्त्रण तथा अवैध सामानको ओसारपसार रोक्न प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ। बरामद सामान भन्सार कार्यालय पठाइनुले अवैध आयात नियन्त्रण तथा राजस्व संरक्षणका लागि प्रहरीको सक्रियता देखाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले अवैध रूपमा भित्र्याइएका सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *