जाजरकोट, कात्तिक ३ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया सुत्केरी महिलालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत नेपाली सेनाको हवाई साधन प्रयोग गरी उनलाई सुर्खेत पुर्याइएको हो।
दुर्गम क्षेत्रमा प्रसूति सेवाको अभाव र उपचारमा हुन सक्ने ढिलाइका कारण जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मन्त्रालयका अनुसार सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालन हुँदै आएको कार्यक्रमले दुर्गम क्षेत्रका महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न सहयोग पुर्याउँदै आएको छ।
