आफ्नै बाबुले खेत जोत्दै गर्दा ट्र्याक्टरबाट खसे छोरा, रोटाभेटरमा परेर ७ वर्षीय बालकको मृ-त्यु

कार्तिक २७
कैलालीमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर रोटाभेटरमा पर्दा सात वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका-८, लिम्कामा बिहीबार दिउँसो करिब १:५० बजे उक्त दुःखद घटना भएको हो।

इलाका प्रहरी कार्यालय मसुरियाका अनुसार स्थानीय ३७ वर्षीय खडकबहादुर चौधरीले आफ्नै खेतमा से.२ त ३६७२ नम्बरको ट्र्याक्टर प्रयोग गरी खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार उनका सात वर्षीय छोरा सुशान्त चौधरी अचानक खसेका थिए। खसेका बालक ट्र्याक्टरको पछाडिपट्टि जोडिएको रोटाभेटरमा परेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आफन्तले बालकको शव घरमा ल्याएर राखेको र ट्र्याक्टर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्र्याक्टरधनी गौरीगंगा नगरपालिका-७ का ४० वर्षीय खुसीराम चौधरी प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट प्रहरी नायब निरीक्षक वीरबहादुर विष्टको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान अघि बढाएको छ।

थप अनुसन्धान तथा घटनाको प्राविधिक जाँचका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरा सिंह महराको कमाण्डमा SOCO सहित सात सदस्यीय टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय मसुरियाबाट करिब तीनदेखि चार किलोमिटर पूर्व-उत्तरमा पर्दछ।

यस घटनाले कृषि कार्यका क्रममा ट्र्याक्टरमा बालबालिकालाई सँगै राख्दा हुन सक्ने जोखिमप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता फेरि उजागर गरेको छ। विशेषगरी ट्र्याक्टर तथा रोटाभेटरजस्ता कृषि उपकरण सञ्चालन गर्दा बालबालिकालाई सुरक्षित दूरीमा राख्न र आवश्यक सावधानी अपनाउन जरुरी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *