सयपत्री फूलखेतीमा फुल्यो टेकराजको सफलता, गाउँमै वार्षिक एक लाख आम्दानी

खेमराज भट्ट, कार्तिक २२
डडेल्धुरा- परम्परागत खेती प्रणालीभन्दा फरक व्यवसाय अपनाउँदै डडेल्धुराका युवाहरू व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित हुन थालेका छन्। मेहनत, लगनशीलता र नयाँ सोचलाई कृषि व्यवसायसँग जोड्दै अजयमेरु गाउँपालिका-५, झिगनीका एक युवाले फूलखेतीबाट आत्मनिर्भरताको बाटो रोजेका छन्।

अजयमेरु गाउँपालिका-५ झिगनीमा सञ्चालित पार्वती कृषि तथा पशुपालन फर्मका सञ्चालक टेकराज पाठक विगत चार वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन्। उनले विशेषगरी टेनिस बल जातको सयपत्री फूल उत्पादन गरी वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताएका छन्।

स्थानीयस्तरमा सम्भावना हुँदाहुँदै पनि फूलको माग पूरा गर्न बाहिरी जिल्लामा निर्भर रहनुपर्ने अवस्थालाई अवसरका रूपमा लिँदै पाठकले फूलखेती सुरु गरेका हुन्। अहिले उनको उत्पादन डडेल्धुरा सदरमुकामदेखि कैलालीको धनगढीसम्म बिक्री हुँदै आएको छ। स्थानीय माटोमा उत्पादन भएको फूलले जिल्लाबाहिर समेत बजार पाउन थालेपछि उनी यस व्यवसायलाई थप विस्तार गर्ने योजनामा छन्।

विशेषगरी दसैँ, तिहारलगायत चाडपर्वमा सयपत्री फूलको माग उल्लेख्य रूपमा बढ्ने गर्छ। पूजाआजा, विवाह, धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक कार्यक्रममा समेत फूलको प्रयोग हुने भएकाले यसको बजार सम्भावना राम्रो रहेको पाठकको बुझाइ छ। यही सम्भावनालाई पहिचान गरी उनले फूलखेतीलाई आफ्नो प्रमुख आम्दानीको माध्यम बनाउँदै लगेका छन्।

फूलखेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन उनलाई सरकारी निकायको सहयोगसमेत प्राप्त भएको छ। कृषि ज्ञान केन्द्रबाट टनेल तथा अजयमेरु गाउँपालिकाबाट थोपा सिँचाइका लागि आवश्यक पाइप सहयोग पाएको पाठकले जानकारी दिएका छन्। उक्त सहयोगले सिँचाइ व्यवस्थापन र उत्पादनलाई सहज बनाउन मद्दत पुगेको उनको भनाइ छ।

फूलखेती सामान्य देखिए पनि यसको उत्पादन, गुणस्तर, सिँचाइ, रोग तथा कीरा व्यवस्थापन र बजारसम्म पुर्‍याउने प्रक्रियामा विशेष ध्यान दिनुपर्ने हुन्छ। बजारको मागअनुसार उत्पादन गर्न सके यस व्यवसायबाट राम्रो आम्दानी लिन सकिने पाठकको अनुभवले देखाएको छ।

नेपालमा चाडपर्व तथा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिमा फूलको माग बढ्दै गएको अवस्थामा स्थानीयस्तरमै व्यावसायिक उत्पादन विस्तार गर्नु आवश्यक देखिन्छ। यसले एकातिर बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने निर्भरता घटाउन सहयोग पुर्‍याउँछ भने अर्कोतर्फ स्थानीय किसानका लागि रोजगारी र आम्दानीको नयाँ अवसर सिर्जना गर्न सक्छ।

वैदेशिक रोजगारी तथा अन्य अवसरको खोजीमा युवा विदेशिने क्रम बढिरहेका बेला आफ्नै गाउँमा कृषि उद्यम सञ्चालन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पाठकले प्रस्तुत गरेका छन्। उनको प्रयासले कृषि क्षेत्रमा नयाँ सम्भावना खोजिरहेका अन्य युवालाई समेत व्यावसायिक खेतीतर्फ आकर्षित गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

डडेल्धुरामा फूलखेतीको सम्भावना अझ विस्तार गर्न गुणस्तरीय बीउ, प्राविधिक ज्ञान, आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा, उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनमा सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने देखिन्छ। किसानलाई उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सहयोग उपलब्ध गराउन सके फूलखेती स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक

चार वर्षदेखि निरन्तर फूलखेतीमा सक्रिय पाठकको प्रयासले एउटा महत्वपूर्ण सन्देश दिएको छ-कृषिमा सम्भावना खोज्न सके आफ्नै गाउँको माटोबाट पनि आर्थिक समृद्धिको आधार तयार गर्न सकिन्छ। स्थानीय उत्पादन, युवाको मेहनत र सरकारी सहयोगको समन्वयबाट डडेल्धुरामा फूलखेतीलाई नयाँ व्यावसायिक पहिचान दिलाउने सम्भावना बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *