बेलौरीबाट ४.८५० ग्राम खैरो हेरोइनसहित कैलालीका दुई युवक पक्राउ

हेमा भट्ट, कात्तिक २२
कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका-४ प्रेमनगरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आइतबार प्रेमनगरबाट शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा उनीहरूको साथबाट ४ ग्राम ८५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ निवासी ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन ४.८५० ग्राम र मोबाइल फोन दुई थान बरामद गरेको जनाएको छ।

बरामद लागूऔषध तथा अन्य सामानसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कानुनबमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी टेकबहादुर रावतले जानकारी दिएका छन्।

लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ। प्रहरीले लागूऔषधको कारोबार, ओसारपसार तथा प्रयोग नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणलाई समेत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *