कृष्णपुर नगर बाल सञ्जालद्वारा यू-१८ प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक

हेमा भट्ट,कार्तिक २७
कञ्चनपुर – कृष्णपुर नगर बाल सञ्जालले प्रथम कृष्णपुर नगरस्तरीय यू-१८ छात्र फुटबल प्रतियोगिता-२०८३ को सार्वजनिक आयव्यय विवरणसहित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ।

कृष्णपुर नगरपालिका-२, बाणीस्थित मछेली खेल मैदानमा गत कार्तिक १६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको आयव्यय विवरण कार्तिक २७ गते सार्वजनिक गरिएको हो।

‘नशाको मैदान छोडौँ, खेल मैदान रोजौँ’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य बालबालिका तथा किशोरकिशोरीलाई खेलकुदप्रति आकर्षित गर्नु, लागुऔषध तथा दुर्व्यसनविरुद्ध सचेतना फैलाउनु र स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताले युवामा अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव, सहकार्य र एकताको भावना विकास गर्न सहयोग पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ। प्रतियोगितामा विभिन्न क्लबका टोलीहरूबीच प्रतिस्पर्धा गराइएको थियो। खेल सञ्चालनका क्रममा रेफ्री तथा स्वयंसेवक परिचालन, प्राथमिक उपचार, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन र दर्शक व्यवस्थापनसमेत गरिएको थियो।

प्रतियोगितामा खेलाडीको हौसला बढाउन विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको थियो। प्रथम हुने टोलीलाई ३० हजार रुपैयाँ, ट्रफी र मेडल, द्वितीयलाई १५ हजार रुपैयाँ तथा तृतीयलाई १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गर्ने पुरस्कार संरचना राखिएको थियो। त्यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा सर्वाधिक गोलकर्तालगायत विधामा समेत पुरस्कारको व्यवस्था गरिएको थियो।

प्रतिवेदनअनुसार प्रतियोगिताका लागि विभिन्न क्लब, संघसंस्था, प्रायोजक तथा सहयोगी व्यक्तिहरूबाट आर्थिक सहयोग जुटाइएको थियो। १४ वटा टोलीबाट प्रतिटोली तीन हजार रुपैयाँका दरले ४२ हजार रुपैयाँ टिम दर्ता शुल्क संकलन भएको छ। कञ्चनपुर जिल्ला संघबाट ६ हजार ६११ रुपैयाँ र अन्य आम्दानीअन्तर्गत पाँच हजार रुपैयाँ प्राप्त भएको विवरण उल्लेख छ।

आयोजकले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताको कुल आम्दानी २ लाख ५३ हजार ६११ रुपैयाँ रहेको छ। साथै भूमि बुक्स एण्ड सप्लायर्सले पाँच हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रायोजन गरेको उल्लेख छ।

प्रतियोगिताबाट स्थानीय खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउनुका साथै विभिन्न क्लब तथा खेलप्रेमीबीच सम्बन्ध र सहकार्य विस्तार भएको आयोजकको निष्कर्ष छ। खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै दुर्व्यसनमुक्त समाज निर्माण गर्ने अभियानमा बाल सञ्जालले आफ्नो भूमिका थप प्रभावकारी बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कृष्णपुर नगर बाल सञ्जालका अध्यक्ष अशोक धामी सिंहले सार्वजनिक गरेको प्रतिवेदनले स्थानीयस्तरमा खेलकुदको विकास, युवाको सिर्जनात्मक सहभागिता र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा प्रतियोगिताले सकारात्मक योगदान पुर्‍याएको देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *