कात्तिक २८ धनगढी – सुदूरपश्चिमका नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षा र सम्भावित प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सञ्चारमाध्यमले खोजमूलक, तथ्यपरक र अनुसन्धानमा आधारित पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री खगराज भट्टले जोड दिएका छन्।
जलवायु परिवर्तनका कारण प्राकृतिक वातावरणमा देखिँदै गएका अस्वाभाविक परिवर्तन, बढ्दो बाढीपहिरोको जोखिम र त्यसले जनजीवनमा पारिरहेको प्रभावलाई पत्रकारिताले प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ छ।
अग्रलेख मल्टिमिडियाद्वारा आयोजित जलवायु पैरवी, विपद् व्यवस्थापन तथा डिजिटल सञ्चार, एआई र डेटामा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विपद् आइसकेपछि समाचार सम्प्रेषण गर्नु मात्रै पत्रकारिताको दायित्व नभई विपद् आउनुअघि नै सम्भावित जोखिम पहिचान गरी नागरिकलाई सचेत गराउनु पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए।
उनले चमेलिया, रङ्गुन, सेती, बुढीगङ्गा र कैलाश खोलालगायत नदी आसपास ठूला बस्तीहरू रहेकाले सम्भावित जोखिमप्रति राज्य, नागरिक र सञ्चारमाध्यम सबै गम्भीर हुनुपर्ने धारणा राखे।
‘हाम्रा सहर र बस्तीहरू अहिले पनि नदी किनारमै छन्। नदी आसपास रहेका बस्तीमा ठूलो विपद् आयो भने त्यसको असर कति भयावह हुन सक्छ भन्ने विषयमा अहिल्यै बहस र तयारी आवश्यक छ,’ उनले भने।
मुख्यमन्त्री भट्टले विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणका लागि जोखिमको वास्तविक अवस्था, विगतका घटनाको विश्लेषण, वैज्ञानिक तथ्याङ्क र अनुसन्धानमा आधारित समाचार सामग्री उत्पादन गर्न पत्रकारहरूलाई आग्रह गरे।
उनका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वको तुलनामा विपद्का घटनाबाट ३३ प्रतिशत बढी मानिसको ज्यान गएको छ। यस्तो अवस्थालाई गम्भीरतापूर्वक लिँदै पत्रकारिताले समयमै राज्यका निकायलाई खबरदारी गर्नुपर्ने उनले बताए।
जलवायु परिवर्तनको प्रभाव कृषि उत्पादन, पानीका मुहान, प्राकृतिक स्रोत तथा जनजीवनमा समेत देखिन थालेको उल्लेख गर्दै उनले स्याउ उत्पादन हुने क्षेत्रमा सुन्तला र आँप फल्न थालेको, पानीका मुहान सुक्दै गएको तथा तराई क्षेत्रमा बसाइँसराइ बढ्दै गएको विषयलाई पनि अध्ययन र अनुसन्धानमार्फत उजागर गर्नुपर्ने बताए।
उनले विपद् र जलवायु परिवर्तनका नकारात्मक प्रभाव मात्र नभई सुदूरपश्चिममा रहेका कृषि, पर्यटन, प्राकृतिक स्रोत तथा आर्थिक समृद्धिका सम्भावनालाई पनि पत्रकारिताले समान प्राथमिकता दिनुपर्ने धारणा राखे। जलवायु परिवर्तनको असर सबैभन्दा बढी कमजोर राष्ट्रहरूले भोग्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको आवाज प्रभावकारी रूपमा उठ्नुपर्नेमा समेत जोड दिए।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २४ जना पत्रकार सहभागी छन्। प्रशिक्षणमा प्रदेशका विपद् जोखिम, जलवायु परिवर्तनका प्रभाव, डिजिटल सञ्चार, कृत्रिम बुद्धिमत्ता (एआई) र तथ्याङ्कको प्रयोग गरी विश्वसनीय तथा अनुसन्धानमूलक समाचार तयार पार्ने सीप प्रदान गरिने अग्रलेखका निर्देशक योगेश रावलले जानकारी दिए।
उनका अनुसार प्रदेशमा प्राकृतिक विपद्को जोखिम उच्च रहेकाले त्यसको प्रभावकारी पहिचान, विश्लेषण र जिम्मेवार रिपोर्टिङ गर्ने क्षमता विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषयमा सञ्चारमाध्यममार्फत जनचेतना फैलाउनुपर्ने बताए। एआईको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग रोक्न तथा सही, विश्वसनीय र आधिकारिक सूचना सम्प्रेषण गर्न पत्रकारहरू थप जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै गुणस्तरीय समाचार उत्पादनमा प्रयोग गर्नुपर्ने बताए। उनले प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई अपेक्षित प्राथमिकता नदिएको टिप्पणी गर्दै यस्ता व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
त्यसैगरी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गहेन्द्र बमले पत्रकारहरूको क्षमता विकासका लागि तालिम आवश्यक रहेको बताए। अग्रलेखका कार्यकारी निर्देशक हरि जोशीले विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण, सामाजिक सचेतना अभिवृद्धि र तथ्यमा आधारित पत्रकारिताको विकासमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सूचना, अनुसन्धान र सञ्चारबीचको समन्वय आवश्यक रहेको सन्देशसहित सुरु भएको प्रशिक्षणले सुदूरपश्चिममा जोखिमप्रति सचेत, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको अभ्यासलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
