हेमा भट्ट मङ्सिर ११
बाजुरा – बाजुरामा भएको ट्र्याक्टर दुर्घटनामा परी घाइते भएकाहरूको उद्धारमा नेपाल प्रहरी सक्रिय रूपमा खटिएको छ।
राति ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय बुढीनन्दा, बाजुराको गाडीमार्फत चार जना घाइतेलाई उद्धार गरी अस्पतालतर्फ ल्याइएको छ। त्यस्तै, एक जना घाइतेलाई बोकेर एम्बुलेन्स रहेको स्थानसम्म पुर्याउने कार्यमा प्रहरी तथा उद्धार टोली खटिएको छ।
दुर्गम भौगोलिक अवस्था र कठिन परिस्थितिका बाबजुद घाइतेको उद्धार तथा उपचारका लागि प्रहरीले देखाएको सक्रियता प्रशंसनीय रहेको छ। दुर्घटनालगत्तै उद्धार कार्यमा जुटेको प्रहरीले घाइतेलाई समयमै उपचारको पहुँचमा पुर्याउन सहजीकरण गरिरहेको छ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
