धनगढी :-“दसैँको टीकासमेत राम्ररी लगाउन पाएनौँ, घरमा केही छैन । बाढीले सबै तहसनहस पारिसकेको थियो”, भजनीका रमा धामीले भन्नुभयो, “छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौँ, फेरि बाढीले डुबायो । शुक्रबार फेरि सडकमा आएका छौँ ।” उहाँले बाढीका कारण आफूहरु बिचल्लीमा परेको गुनासो गर्नुभयो । “बाढीले केही राखेन, न घरका सामान, अन्न राख्यो, न खेतमा रहेको धानबाली रह्यो”, उहाँ भन्नुहुन्छ, “हामी के खाने ? वस्तुभाउलाई के खुवाउने ? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ ।”
बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो । कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ । कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरीलगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको हो । यसअघि असोज १ गते शनिबारका दिन दिउँसो २ः५० बजे कर्णालीमा बाढीको तह १०.८० मिटर रेकर्ड भएको थियो । पछिल्ला वर्षहरुमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ ।
कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो । यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका–२, ७ र ८ का सयौँ घरमा बाढी पसेको हो । भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीबाट विस्थापितहरु कोही उच्च घर, कोही विद्यालय र कोही सडकमै फर्किएका बताउनुभयो । उहाँले भजनीमा बाढीले तहसनहस गरेको बताउनुभयो । असोजको पहिलो साताको बाढीले खेतीपाती सखाप भइसकेका यहाँ नागरिक पुनः बाढी आएपछि थप पीडामा छन् । फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित हुनु परेपछि निकै दुःखी भएका छन् ।
निरन्तरको वर्षाका कारण अधिकांश किसानको पाकेको धान खेती हावा लागेर ढलेको छ । पाकेको धान खेतमा सड्ने र उम्रने जोखिम बढेको किसान मणिराम रावलले बताउनुभयो । “खुल्ला खेतमा धान ढलिसकेको छ । पाकेको धान हावाले समेत ढल्न थालेको छ”, उहाँले भन्नुभयो, “वर्षा नरोकिए धान खेती रहन्न । मौसम यस्तै रहे यहाँ त भोकमरी हुने चिन्ता बढेको छ ।” किसानहरु वर्षा रोकिएको भए बाला काटेर भए पनि धान खेती जोगाउन हुन्थ्यो भन्न थालेका छन् । “खुल्ला खेतमा पानी रोकिएको एक सातासम्म धान काट्न सकिँदैन”, किसान परमभक्त देवकोटाले भन्नुभयो, “पानी रोकिएको भए धानका बाला मात्र काटेर भए पनि अन्न जोगाउन हुन्थ्यो । अझै दुई÷तीन दिन वर्षा भएमा धान नोक्सान हुन्छ ।”
मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारको तुलनामा शनिबार आइतबार झन् बढी वर्षा हुनेछ । वर्षा निरन्तर रहेको र यहाँका नदीहरुमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा थप जोखिम रहेको बताइएको छ । यहाँका पालिकाहरुले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरिसकेका छन् । यसका साथै खोज तथा उद्धारमा सबै सरोकारवालाई परिचालन हुन आग्रह गरेका छन् ।