पैतालाको बीच भागमा बाँधिएको पट्टीले उनका खुट्टामा उठेका ठूल्ठूला फोका छोपिएका

फागुन १८ धनगढी
मंगलबार अपराह्न निर्मला ठाकुर भुइँमा थचक्क बसेकी थिइन्। बेला-बेला खुट्टाका पैतालामा बाँधिएका पट्टी हेर्थिन्।

पैतालाको बीच भागमा बाँधिएको पट्टीले उनका खुट्टामा उठेका ठूल्ठूला फोका छोपिएका थिएनन्।

कतिपय फोकार फुटेर छाला उक्किँदै थिए, कति झिलझिले फोका खिल बनेर बसिरहेका थिए।

‌कुर्कुच्चोको भाग पट्पटी फुटेका छन्।

‘आज खाली खुट्टा हिँड्नु परेकाले झन् फोका फुट्यो,’ निर्मलाले आफ्नो खुट्टातिर हेर्दै भनिन्, ‘यहाँ सडक कालोपत्रे गरिएको भए पनि स-साना ढुंगाले बिझायो।’

हामीसँग भेट्नुअघि उनी भृकुटीमण्डपदेखि भद्रकाली-सुन्धारा, शान्तिवाटिका पार्क हुँदै भृकुटीमण्डपसम्म खाली खुट्टा हिँडेर आइपुगेकी रहिछिन्।

सुन्धारालाई फन्को मारेर भृकुटीमण्डपसम्म पुग्दा उनका खुट्टा झनै सुन्निएछन्। त्यसैले उनी आफ्ना खुट्टा बेला-बेला हातले थिच्दै थिइन्।

४० वर्षमा उनले मेचीदेखि काठमाडौंसम्म झन्डै एघार सय किलोमिटर हिँडेर यात्रा गरेकी छन्। अझै काठमाडौं आइपुगेर कति हिँडिन् भन्ने कुराको हिसाब उनले राखेकी छैनन्।

उनी माघ १६ गतेदेखि निरन्तर हिँडिरहेकी छन्। खुट्टाका छाला उक्किए, फरियाका टुक्रा बाँधेर भए पनि हिँड्न चहान्छिन् तर आफूले न्याय नपाएसम्म फर्किन चाहँदिनन्।

महोत्तरी औरही नगरपालिका- १ की निर्मलाको जिन्दगी ठीकठाक चलिरहेको थियो। तीन सन्तानलाई दु:खसुख गरेर हुर्काइरहेकी थिइन्। उनका श्रीमान ज्याला मजदुरी गर्थे।

बस्नका लागि एउटा सानो घर थियो, एक बिघा क्षेत्रफलमा उत्पादित अन्नबालीले उनको परिवारको गुजारा चलिरहेको थियो।

तर चार वर्षअघि एउटा घटना भयो। जसले उनको जिन्दगी नै फेरियो।

उनका अनुसार सडकमा हिँडिरहँदा मदिरा सेवन गरेर मोटरसाइकल चलाउने व्यक्तिले उनका २४ वर्षीय छोरालाई हिर्काएर भागे। उनका छोराको बायाँतर्फ खुट्टा चोट लागेको थियो।

‘दु:ख सुखले दुई छाक टरेको जिन्दगीमा पैसाको आपत पर्‍यो, आफ्ना सन्तान आँखै अगाडि छटपटाइरहेको हेर्न सकिएन,’ उनले भनिन्, ‘उपचार गर्नैपर्‍यो।’

उनले सुरूआती दिनमा नजिकका स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पतालसम्म पुर्‍याइन्। त्यहाँ दुई/ चार दिन भन्दाभन्दै छोराको खुट्टा नचल्ने भयो। त्यसपश्चात साहुकारसँग ऋण लिन बाध्य हुनुपरेको उनी बताउँछिन्।

एक बिघा जग्गा धितो राखेर उपचारका लागि पटक-पटक गरेर दुई लाख रूपैयाँ ऋण लिइन्। जिल्ला अस्पतालले काठमाडौं बि एन्ड बि अस्पतालमा उपचार गराउँदा निको हुने बताएपछि छोरालाई यही लिएर आइन्।

‘६ पटक धाउँदा छोराको खुट्टा केही निको भयो,’ उनले भनिन- ‘तर घरबारी सबै गुम्यो।’

ऋण लिएको दुई/चार महिना हुन नपाउँदै साहुले आफूसँग दिनहु पैसा माग्न थालेपछि घर बेच्न बाध्य भएको उनी बताउँछिन्।

‘बिहान-साँझ जहाँ भेट्यो त्यहीँ पैसा माग्न थालेपछि ऋण तिर्न १२ लाख रूपैयाँमा घर बेच्नुपर्‍यो,’ उनले भनिन्, ‘तर सोचेजस्तो भएन।’

उनले घर बेचेको ३/४ लाख रूपैयाँ छोराको उपचारका लागि खर्चिइन्। ४/५ लाख रूपैयाँ साहुकारलाई ऋण तिर्न भनेर गइन्। त्यहाँ जाँदा उनी आफैं अचम्मित भइन्।

उनी आफैंले दुई लाख रूपैयाँमात्र ऋण लिएकी थिइन्। तर तमसुकमा २० लाख रूपैयाँ लिएको र ३० लाखभन्दा माथि तिर्नुपर्ने भनेपछि उनी छाँगाबाट खसेजस्तै भइन्।

‘दुई लाख रूपैयाँ मात्र लिएकी थिएँ, ऋण लिएको डेढ वर्ष नबित्दै ४/५ लाख रूपैयाँ दिँदा पनि एक बिघा जग्गा फिर्ता दिएनन्,’ उनले भावुक हुँदै भनिन्, ‘त्यही जग्गा फिर्ता पाउने आसले घर बेचेको थिएँ।’

आफूले लिएको रकमको दोब्बर शुल्क तिर्न तयार हुँदा पनि निर्मलाले आफ्नो जग्गाको कागजात फिर्ता पाइनन्।

यता घर पनि रहेन।

निर्मलाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने, सीप सिकाउने रहर बोकेकी थिइन्। यी सब कुरा अधुरै हुँदा रातभर निदाउन सक्दिनन्।

अहिले पनि ऋण नतिरेको भन्दै साहु बेला-बेला उनी बस्ने ठाउँमा आइरहन्छन्। आफूले घर बेचेसँगै बस्नका लागि सानो टहरा बनाएको उनी बताउँछिन्।

‘साहुले बाँच्न दिँदैनन्, सन्तानको मायाले मर्न सकिँदैन,’ उनले भनिन्।

उनी अहिले पनि आफूले लिएको ऋण तोकिएअनुसारको ब्याज तिर्न तयार छिन्। उनको र साहुको एक सय रूपैयाँमा मासिक ५ रूपैयाँ ब्याज लिने सहमति भएको थियो।

सोही सहमतिअनुसार हिसाब-किताब गरेर आफ्नो एक बिघा जग्गा फिर्ता पाउने आसमा उनी विभिन्न निकाय धाइरहेकी छन्। उनले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगमा पनि उजुरी दिएकी छन्। तर उनको उजुरीमा कुनै पनि कानुनी प्रक्रिया अगाडि नबढेको उनी बताउँछिन्।

‘गाउँमा बोलेर कसैले नसुन्ने भएपछि काठमाडौं आउनुपरेको हो,’ उनले भनिन्।

उनीजस्तै महाकालीदेखि निरन्तर हिँड्दै आएकी ३९ वर्षीय सम्सुनिशा मुस्लिमको पनि हालत उस्तै छ। उनका पनि खुट्टा सुन्निएका छन्। मंगलबार दिउँसो नांगो खुट्टा न्याय मार्च गर्ने भनेपछि उनले भृकुटीमण्डपको खाजा पसलमा नुनपानी मागेर सेकेकी थिइन्।

‘अलि-अलि कम हुँदै थियो, आजको हिँडाइले अझै सुनियो,’ सम्सुनिशाले भनिन्।

उनी पनि माघ १६ गतेदेखि निरन्तर हिँड्दै आएकी छन्।

कपिलवस्तुकी उनी मंगलबार अपराह्न भेट्दा बोल्न सक्ने अवस्थामै थिइनन्। धुलो-धुँवा र दुषित पानीले गर्दा आवाज भासिएको उनले बताइन्।

उनी हामीसँग स्वासले मात्र बोल्दै थिइन्।

‘अब दुई/चार दिन हिँड्न नपरे पनि हुन्थ्यो, ज्यानलाई आराम चाहिएको छ,’ उनले मसिनो स्वरमा भनिन्।

उनी शरीरमा लागेको चोट केही दिनमा निको भए पनि साहुले घरबारविहीन बनाइदिएको पीडा तीन/ चार वर्षदेखि कम नभएको उनी बताउँछिन्।

उनका चार सन्तान छन्, दुई छोरी-दुई छोरा।

छोरालाई इन्जिनियर पढाउन चाहन्थिन्। त्यसैले साहुलाई ४ कठ्ठा जग्गाको कागजात धितो राखेर दुई लाख रूपैयाँ ऋण लिएकी थिइन्। तीन वर्षमा पटक-पटक गरेर ६ लाख रूपैयाँ तिरेको उनको दाबी छ। तर पनि उनले आफ्नो जग्गाको कागजात फिर्ता पाइनन्।

‘साहुले अझै ५/७ लाख नतिरेसम्म कागजात फिर्ता नदिने धम्की दिइरहेका छन्,’ उनले भनिन, ‘दुई लाख रूपैयाँको ६ लाख तिर्दा पनि कागजात फिर्ता पाइनँ।’

उनले सुरूआती दिनमा ब्याज लिएको होला भन्दै खुरूखुरू पैसा तिरिन्। ६ लाख रूपैयाँ तिरिसक्दा पनि कागजात फिर्ता नदिएपछि न्यायका लागि दौडधुप गरिरहेको उनको भनाइ छ।

‘गाउँमा पीडितको कुरा कसैले सुन्दैन,’ उनले भनिन्, ‘वडा- नगरपालिकामा त्यही साहुकारका मान्छे हुन्छन्। त्यसैले केन्द्रसम्म आइपुग्नु परेको हो।’

उनी आफूले गरिखाने त्यही ४ कठ्ठा खेत फिर्ता पाइन्छ भन्ने आसले न्यायको यो मार्चमा छिन्।

कञ्चनपुरकी शान्तिदेवी पार्कीको पनि निर्मला र सम्सुनिशाको जस्तै कथा छ।

उनले घरखर्चका लागि साहुसँग डेढ लाख रूपैयाँ ऋण लिएकी थिइन्। ऋणभन्दा दोब्बर रकम फिर्ता गरिसक्दा पनि आफूले धितो राखेर ३ कठ्ठा जग्गा फिर्ता पाएकी छैनन्।

उनले दुई वर्षअघि गाउँकै साहुकारसँग ऋण लिएकी थिइन्। ऋण चुक्ता भयो भन्दै पटक-पटक जग्गाको कागजात लिन साहुकोमा जाँदा अझै ५ लाख रूपैयाँ तिर्न बाँकी छ भनेपछि उनी भौंतारिएर न्याय माग्नका लागि हिँड्दै काठमाडौं आइपुगेकी हुन्।

उनी पनि माघ १६ गतेदेखि निरन्तर मिटरब्याज तथा ठगीविरूद्ध किसान-मजदुर संघर्ष समितिका न्याय मार्चका लागि साथ दिन हिँड्दै आएकी उनी बताउँछिन्।

‘पीडितहरूको आवाज सरकारले सुनिहाल्छ कि भनेर काठमाडौं आएकी हुँ,’ उनले भनिन्, ‘न खाने, न बस्ने ठेगाना छ। तर पनि न्याय पाउने आसमा अनिँदो बसेर भए पनि हिँडेर काठमाडौं आइपुग्यौं।’

निरन्तर हिँड्नेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ का २४ वर्षीय उमेश कोरी पनि हुन्।

उनकी आमाले २०७२ सालमा १६ लाख रूपैयाँ ऋण लिएकी थिइन्। उनकी आमाले उनीहरूलाई पढाउन र घरखर्च चलाउन ऋण लिएकी थिइन्।

उक्त ऋण साहुले त्यसै दिएका होइनन्, दुई बिघाको जग्गाको कागजात धितो राख्नुपरेको थियो। उनकी आमाले अहिलेसम्म निरन्तर पैसा तिरिरहेकी छन्।

‘७० लाख रूपैयाँ तिरिसक्नुभयो, अहिलेसम्म कागजात फिर्ता पाइएको छैन,’ उनले भने, ‘अनपढ भनेर साहुले ठगिरहेको छ। त्यसैले १६ लाख रूपैयाँको ब्याजसहित रकम असुल गरेर बाँकी पैसा फिर्ता दिनुपर्छ।’

साहुले लिएको बढी शुल्क फिर्ता पाउनुपर्ने माग राख्दै उनी महाकालीदेखि निरन्तर हिँड्दै आएका हुन्।

उनीहरूजस्तै मेची र महाकालीबाट निरन्तर हिँड्नेहरू दुई/तीन सय जना छन्। बाँकी प्रत्येक जिल्लाबाट आउने-जाने क्रममा भएको उनीहरू बताउँछन्।

माघ १६ गतेदेखि न्याय मार्च सुरू गरेका मिटरब्याज पीडितहरू फागुन ११ गते शुक्रबार भद्रकाली आइपुगेका थिए। बाटोमा थपघट हुँदै गर्दा भद्रकाली आइपुग्दा १२/१३ सय जना उपस्थित भएको मिटर ब्याज तथा ठगीविरूद्ध किसान-मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविन बताउँछन्।

मिटरब्याज पीडितहरू हिँडेर काठमाडौं आइपुगेपछि साहुकारविरूद्ध लड्ने हिम्मत आएको छ। पहिला साहुकारविरूद्ध बोल्न डराउँथे। अहिले बोल्नुपर्छ। आवाज उठाउनुपर्ने भन्नेसम्म पुगेका छन्।

‘यति लामो बाटो त हिँडेर आइपुगियो। साहुकारविरूद्ध लड्न सकिन्छ भन्ने हिम्मत आएको छ,’ उनले भने, ‘केन्द्र पुगे न्याय पाइन्छ भन्ने आसमै उनीहरू हिँडेका हुन्।’

हिँडाइले पैताला पोले पनि सरकारले उनीहरूको समस्या समाधान गरिदिएर मन शान्त पारिदियोस् भन्ने लागे उनी बताउँछन्।

उनका अनुसार, आइतबार सरकारसँग वार्ता भएको थियो। सोमबार भृकुटीमण्डपबाट हटाउने भनिएपछि वार्ता हुन सकेको थिएन। मंगलबार गृह मन्त्रालयसँग भएको वार्तामा सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेपछि मात्र वार्ता बस्ने निर्णय भएको छ।

‘उक्त प्रतिवेदन कहिले आउँछ टुंगो छैन,’ उनले भने, ‘अहिलेसम्म पीडितहरूको वार्ता निष्कर्षमा पुगेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply