राज सरगम
चैत ६ धनगढी
बालापनमा अनन्त नीलो, गहिरो समुद्रमा बेपत्ता भएका भूताहा जहाजका कथाहरू सुनेर रहस्य-लोकमा तैरिरहने जीवा लामिछाने त्यही समुद्रको यात्रापछि एक ‘तिलस्मी-संसार’मा पुगे। हिउँको त्यो संसार थियो-रोमाञ्च, कौतुहल र डरले भरिएको-अन्टार्कटिका। एन्ड्रयु डेन्टनले लेखेकै छन्-‘यदि अन्टार्कटिका संगीत हुन्थ्यो भने त्यो सायद मोजार्ट हुन्थ्यो। चित्रकारिता भएको भए माइकल एन्जेलो र साहित्य भएको भए सेक्सपियर। तर, त्यहाँ पुगेपछि लाग्यो, ती सबैभन्दा माथिल्लो केही हो- अन्टार्कटिका।’ त्यो अक्षत भूमिको परिभ्रमणपछि जीवा लामिछानेले किताब लेखेका छन्- अक्षत अन्टार्कटिका। मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नाकोत्तर लामिछने विगत चालिस वर्ष यता युरोप-नेपाल गरिरहेका छन्। १ सय ३० भन्दा बढी देश घुमेका लामिछानेका यसअघि ‘सर्सर्ती संसार’ र ‘देशदेशावर’ पुस्तक प्रकाशित छन्। अन्टार्कटिका यात्रा र त्यो ‘तिलस्मी-संसार’को सेरोफेरोमा जीवा लामिछानेसँग देशसञ्चारका लागि राज सरगमले गरेको कुराकानीको संपादित अंश:
यात्राको लेखन कस्तो हुन्छ ?
मानिसहरू अहिले संसारभरि यात्रा गर्न थालेका छन्। र, मेरो अनुभवमा यात्राका क्रममा टिपोटको अभ्यास गर्ने हो भने लेखनवृद्धि हुँदोरहेछ भन्ने लाग्छ। अर्थात जसले अभ्यास गर्छ उनीहरूले लेखनलाई निरन्तरता दिन सक्ने हो। र, आजभोलि त कापीमा या ल्यापटपमा लेख्नैपर्छ भन्ने पनि भएन। लेख्नका लागि किताबभन्दा अरू धेरै माध्यमहरू छन्। जस्तै, सामाजिक सञ्जाल छिटो छरितो लेख्ने ठाउँ हो। मानिसहरूले आफूले देखेका र अनुभूत गरेको कुराहरू सोसल मिडियाको माध्यमबाट बाहिर ल्याउन सक्छन्। र मेरो यात्राको लेखन पनि यसरी नै सुरू हुन्छ।
यात्रामा निस्किनुअघि ‘म लेख्ने छु’ भनेर सोच्नु हुन्छ कि यात्रा गरिसकेपछि लेख्ने गर्नुहुन्छ?
झण्डै-झण्डै म सोभियत संघ पढ्न गएदेखिन नै (४० वर्ष पहिले) घुम्न थालेको रहेछु। पढ्ने क्रममा मेरो ‘विन्टर सेमेस्टर’ मा दुई हप्ता र ‘समर सेमेस्टर’मा दुई महिना छुट्टी हुन्थ्यो। त्यो खाली समयलाई म घुम्न प्रयोग गर्थेँ। युरोपतिर घुम्न सहज पनि थियो। भिसाको पनि सहजता थियो। विद्यार्थीकालमा ऊर्जा र जोस पनि थियो । जिज्ञासु पनि थिएँ। तर लेखौला भनेर सोच्थिनँ र पनि म डायरीको व्यवस्था गर्थेँ। टिपोट गर्थेँ। अनि कहीँ कतै साथी सर्कलमा सुनाउँथेँ। पछि सामाजिक सञ्जाल आएपछि त्यहाँ शेयर गर्न थालेँ। अनि साथीहरू किताबको तयारी गर्न झकझकाउनु हुन्थ्यो। टिपोट सामग्रीको सहयोगमा मैले लम्बाउने अभ्यास गर्न थालेँ।
अचेल यात्रामा निस्कनुअघिको तयार कस्तो हुन्छ?
आजकल चाहिँ म केही न केही लेख्छु भन्ने चेतसहित यात्रामा निस्कन्छु। त्यो चेतनासहित यात्रामा निस्किन सकियो भने हरेक चिजमा चासो बढ्दो रहेछ। मसिनो-मसिनो कुरामा जिज्ञासु हुन सकिँदोरहेछ। कुनै बस्तु, परिवेश या इतिहासलाई जान्न खोजिँदोरहेछ। आँखाले देखेको सबै कुराहरू याद भइरहँदैन त्यसलाई टिप्न सकिएमा स्मरण गर्न सजिलो हुँदोरहेछ। सामान्य कुराहरू हराएर जान्छन् नि तर लेख्छु भनेर गयो भने लेख्ने सामग्री पाइँदोरहेछ। त्यसैले अचेल नयाँ ठाउँ पुगे भने नयाँ चिज देखेँ भने टिपिहाल्छु र पछि समय मिलाएर विस्तृतीकरण गर्ने कोसिस गर्छु।
पछिल्लो समय चाहिँ वातावरण र पर्यावरणको विषयमाथि चासो बढेको छ। वैदेशिक रोगजारीका कारण गाउँ रित्तिएको अवस्था छ। यस्तो बेला तपाईंको यात्राको लक्ष्य के’मा बढी केन्द्रित हुन्छ?
म यहीँ ठाउँमा जान्छु र यही चिजको बारेमा लेख्छु भनेर यात्रा नै गर्दिनँ। मलाई पृथ्वीको जुनै ठाउँमा गएपनि ‘किन आएँ हुँला’ भन्ने अनूभति कहिल्यै भएन। जस्तै एउटा अनुभव सुनाउँछु- म र मेरो श्रीमती साहरा मरुभूमिमा गएका थियौँ। मरुभूमि भनेको त केवल बालुवाको थुप्रो हो भन्ने चित्र हामीले दिमागमा बनाउँदै आएका हौ नि । त्यहीँ सोचेर गइएको पनि थियो तर त्यहाँ पुगेपछि थाहा पाएँ साहरा मरुभूमिको सुन्दरता। साह्रै युनिक लाग्यो। हरेक बालुवा सुनौला जस्तो, सुनको कण जस्तो। सुर्यको प्रकाश पर्दा निस्किएको आभाले साह्रै लोभ्याउँदोरहेछ। पृथ्वीमा हरेक चिजमा सुन्दरता पाउन सकिन्छ मात्र हामीले कसरी हेर्छौँ भन्ने हो।
पर्यावरणमैत्री यात्रा बनाउने कि?
पृथ्वीमा यस्ता धेरै ठाउँ अझै छन्, जहाँ मानिसहरूले बिगारेका छैनन्। थुप्रै ‘अन टच प्लेस’ छन्। ती ठाउँ यात्राकै कारण बिग्रिने हो कि भन्ने चिन्ता छ। पर्यटककै कारण तिनीहरूको बिनास हुने हो कि? संसारमा पर्यावरणमैत्री अथवा ग्रिन टुरिजमको कन्सेप्टहरू आइसक्यो। त्यसरी पनि यात्रा गर्न सकिँदोरहेछ भन्ने अन्टार्कटिकाको यात्रामा थाहा पाएँ। यहाँ पनि त्यो आवश्यक छ।
अन्टार्कटिकाको यात्रा अनुभव सुनौँ न?
एक वर्ष अगाडि अर्थात जनवरी १३ देखि २४ सम्म मैले अन्टार्कटिकाको यात्रा गरेको थिएँ। म श्वेत महादेशको एउटा सानो प्रायद्वीपमा मात्र पुगेको हुँ। अन्टार्कटिका चाहिँ लामो समयसम्म अवैध अगम्य महादेशको रूपमा रहेको थियो। अनौठो खालको मौनता थियो, त्यहाँ। हिउँको विशाल साम्राज्य, जहाँ क्रुजको यात्रा गरेर पुग्न सकिन्छ। यात्राको क्रममा गाइडहरूले सुनेका कथाहरू शेयर गर्थे। अन्टार्कटिका भन्ने ठाउँलाई पत्ता लगाउने धेरै संघर्ष गरिएको रहेछ। जुन ठाउँबाट हामी प्रवेश गरेको थियौँ- ड्रेक प्यासेज, कहालिलाग्दो थियो। साँघुरो र एउटा मात्रै बाटो। त्यो ठाउँमा ५० मिटरभन्दा अग्लो छाल आउँदोरहेछ, जहाँ ८ सयवटा जहाज डुबेका रहेछन्। त्यहाँ धेरैले ज्यान गुमेको रहेछ। चस्का दिने त्यो ठाउँ मेरा लागि अक्षत नै हो। अर्नेस्ट स्याकल्टनको बाँच्ने संघर्ष, रोआल्ड एमन्डसनको गुमनाम कीर्तिमानको कथा। बन्दाबन्दैको कीर्तिमानबाट चुकेर ज्यान गुमाएका रबर्ट स्कटको कथा । कहालीलाग्दो ड्रेक प्यासेज। देखेर साह्रै कौतुहल बनाउँछ। यो यात्रामा क्यानाडा निवासी घनश्याम राजभण्डारी दाइले साथ दिनु भएको थियो। अन्टार्कटिकामो प्राणी पनि छन्। जस्तै पेन्गुइन, ब्ल्यू ह्वेल, सिल जस्ता प्राणीले थप रोचक बनाउँछ यात्रा।
पर्यटकबाट त्यहाँका प्राणी जोखिममा छन् कि?
अन्टार्कटिका अवैध ठाउँमा पनि पर्यटक लैजान अभियान सुरू भएपछि त्यहाँ भएका प्राणीमा पर्यटकले रोगहरू सारिदिन्छिन् कि भन्ने चिन्ता जनाएका थिए। तर त्यहाँ गए पछि के देखेँ भने, त्यहाँ भएका कुनै पनि प्राणी वा संरचनालाई पटक्कै हानी नहुने गरी पर्यटक लैजान सकिँदोरहेछ। सावधानी धेरै अपनाइएको पाएँ। सजग भएर जीवजन्तुमैत्री पर्यावरणमैत्री पर्यटन पनि गर्न सकिदोरहेछ भन्ने त्यहाँ गएर महसुस गरेँ।
तर नेपालमा त पर्यटककै कारण सगरमाथा बिग्रियो भन्ने छन्?
सगरमाथा बढ्दो पर्वातारोहीको कारणले एक किसिमको ‘डम्पिङ साइट’मा परिणत हुन लाग्यो भन्ने चिन्ता सबैतिर व्यप्त छ। यसैसँग जोडेर मैले अक्षत अन्टार्कटिका किताबमा लेखेको छु कि, पर्वतारोही पनि चाहिन्छ। हिमाल आरोही गर्ने पर्यटक पनि चाहिन्छ। हाम्रो देशमा आठ ओटा अग्ला हिम शिखरहरू छन् त्यसलाई बन्देज गर्नु हुँदैन। मानिस स्वभावैले हिँड्ने प्राणी हो। हिँड्न रोक्नु हुँदैन तर पर्यावरणलाईं नबिगारी। पृथ्वीमा जति मानिसको हक त त्यति नै अन्य जीवजन्तु र प्राणाीको पनि छ तिनलाई नबिगारी। पर्यावरणमैत्री र स्वच्छ हिमालको परिकल्पनाका साथ नेपालमा सगरमाथा मात्रै नभएर सबै हिमालमा पर्वतारोही भित्राउनु पर्छ।
यात्राको चुनौती के हुँदोरहेछ?
विश्व साइकल यात्री पुष्कर शाहको किताब मैले पनि पढको छु। हामीले कुनै साहित्यिक महोत्सवमासँगै शेसन पनि गरेका थियौँ। उहाँ ‘फकिर यायावर’ हो। त्यस्तो यात्रा धेरै कमले गर्छन्। मैले पनि विद्यार्थी कालमा फुक्काफाल भएर यात्रा गरेको थिएँ। तर उहाँको जस्तो ‘रिस्क’ लिएर यात्रा गरिनँ। किफायिती हिसाबले यात्रा गरेँ। मेरो यात्रा अलि फरक हुन्छ। मैले यात्रामा पहिला भाषा याद गर्छु। आफूले कसरी उनीहरूलाई बुझाउन सक्छु भन्नेमा सचेत हुन्छु।
युरोपको यात्रा चाहिँ कति सहज छ?
युरोपमा यात्रा गर्न सहज छ। तर यात्राको क्रममा पाकेट मारिने सम्भावना त्यहाँ पनि छ। विकसित देशहरूमा पनि यस्तो हुन्छ। पछिल्लो समय देशहरू नेपालबाट घुम्न पुगेकाहरू ठगिएको लुटिएको सुनेको छु। त्यसैले जति विकसित देश भएपनि सार्वजनिक स्थलहरूमा यात्रु स्वयं सचेत हुनुपर्छ। हामीकहाँ गाउँघरतिर कुखुरे चोर भन्ने हुन्थ्यो नि हो त्यस्तो चाहिँ युरोपका धेरै सहरमा पाइन्छन् तर डराएर कसैले केही गरी पो हाल्छ कि भन्ने हिसाबले सोच्न पर्दैन। मानिसलाई ‘किड्न्याप’ नै गर्नेचाहिँ हुँदैन। म चाहिँ प्राय यात्रामा गाइड राख्छु ‘ग्रुप गाइड’ पनि हुन्छन्। अलिकति सुरक्षित होटलहरूमा बस्छु। अनि यात्रा गर्ने क्रममा शो गर्दिनँ।
तपाईं यात्रामा निस्किँदा कोही न कोही परिवारको सदस्य पनि हुनुहुन्छ नि?
प्राय मेरो यात्रा तीन कारणले हुन्छ। एउटा व्यवसायीक यात्रा हो, जहाँ मेरा व्यवसायिक साँझेदार हुन्छन्। अर्को ‘होली डे’मा यात्रा गर्छु जहाँ स-परिवार भइन्छ। बच्चाहरू सानो हुँदा उनीहरूको छुट्टीको सदुपयोग गरी वर्षमा दुई पटक यात्रामा निस्किने गरिन्थ्यो र अहिले पनि त्यसरी यात्रा गर्ने गरेका छौँ। अर्को चाहिँ गैर आवासीय संघ नेपाल (एनआरएनए)लाई विश्वव्यापी बनाउने क्रममा यात्रा गरेँ। अर्को चाहिँ यात्रा गर्न मन पराउनेहरूको दुई-तीन वटा समूह छ।
विकसित देश र विकासोन्मुख देशमा यात्रा गर्दा सामाजिक, आर्थिक र सांस्कृति रूपमा के फरक पाउनु भएको छ?
आर्थिक पक्षबाट तुलनात्मक रूपमा हेर्ने हो भने धेरै फरक हुन्छ। पैसामै फरक भएपछि यात्रामा पनि फरक आइहाल्ने नै भयो। विकान्मोख देशहरूमा भने कतिपय कुराहरू ताजा छ। प्रदुषण छैन। ताजा प्राकृतिक सौन्दर्यतामा कुनै कमी आएको छैन। प्रकृतिले नै त्यसलाई सुन्दरता दिएको छ। तर विकसित देशहरूमा धेरै कृत्रिमता छ तर त्यो पनि सुन्दर बनाइएको छ। प्रकृतिलाई चुनौती दिन सक्ने खालको छ। विकासोन्मुख देशमा सांस्कृतिक, सम्पदा, ऐतिहासिक महत्त्वका धरोहरलगायतको संरचना सुरक्षित छैन। तर विदेशमा ती संरचनाको संरक्षण भरमार गरिएको छ।
विकसित देशहरूमा यात्रा गर्दा सहर-बजारमा धेरै मानिसहरू बसेको पाइन्छ। अहिले त नेपालमा पनि त्यो कल्चर आएको छ। पश्चिमाहरूमा सहरमा मानिसहरु छन्। प्रदुषण पनि छ र त्यसप्रति सचेत पनि छ। खोला नदीको संरक्षण गरिएको छ। पश्चिमा मुलुकमा ठूला ठूला सहरलाई आकाशबाट हेरियो भने जंगलभित्रको सहरजस्तो लाग्छ। यतिधेरै रुखहरू छन्। जस्तै मस्को, लण्डन, पेरिस यस्तै सहर हुन्। सयौँ वर्ष अघि बनेका ती सहरहरू हरियाली छन्। तर हामीकहाँ अहिले बन्दै गरेको सहर पनि कंक्रिटको सहरजस्तो लाग्छ।
नेपालमा यात्रा गर्दा अपनाउनुपर्ने सावधानी के-के हुन्? पर्यटकको संख्या बढाउन के गर्न सकिन्छ?
नेपालमा म धेरै यात्रा गरेको त छैन र पनि मैले ७७ जिल्लामध्ये ६० वटा जिल्ला घमिसकेको छु। यात्राकै हिसाबले नभए पनि कुनै न कुनै हिसाबले हिँडेको छु। पछिल्लो समय नेपालमा आन्तरिक पर्यटक फष्ट्याएको छ। ट्रेकिङ गरेर आउनेहरूबाट म सुनेको अनुभवबाट के थाहा पाएको छु कि- ‘होमइस्टे’ राम्रो हुँदै गएको छ। संस्कृतिको संरक्षण गर्न थालेका छन्। सफा र हरियालीयुक्त वातावरणमा काम गरिरहेका छन्। नेपाली इमान्दार पनि छन्। ‘अतिथि देव भव’ नेपालको संस्कृति नै भइहाल्यो। १५-२० अघि पनि नेपालमा पर्यटन व्यवसाय धरमराउँदो अवस्थामा थियो। तर अहिले यो फराकिलो भएको छ। आन्तरिक र बाह्य पर्यटक बढेका छन्। पर्यटन मैत्री छ समाज। माओवादी द्वन्द्वकालमा प्रहरीलाई चोकचोकमा चेक गराएर हिँड्नुपर्दाको अवस्थामा थियो। भिसै लिएर हिँडेको जस्तो थियो देशभित्र। र पनि त्यत्रो जनयुद्धमा पनि विदेशी पर्यटकमाथि सद्भाव कायमै रह्यो। नेपालमा पर्यटनको हिसाबले त अझै धेरै ठाउँ ताजा छन्। एक निश्चित सिजनमा हिमाल चढाउनबाहेक हामीले हिमालको सही सदुपयोग गर्न सकेका छैंनौँ। ती मनोरम दृष्यहरू हामीले देखाउन सकिरहेका छैंनौँ। पर्यटक भित्राउन सक्ने ठाउँमा पनि सम्भाव्यता अध्ययन हुन सकेको छैन। र राज्यले बाटो, विजुली त पुगेको छ तर संरचनाहरू न्युन छन्। केही सरकारले बनाइदियोस्, केही निजी क्षेत्रबाट पनि हुन्छ।
तपाईं त धेरै देश घुम्नुभयो। यात्राका क्रममा तपाईंबाट चितवन कहिल्यै चितवन छुटेको छ?
म चितवनबाट २०३९ सालमा सोभियत संघ गएको थिएँ। करिब ४२ वर्ष उतै भएँ र पनि मेरो मनचाहिँ नेपालमा हुन्छ र विशेष गरी चितवनमा। सपनाहरू पनि चितवनकै देख्ने गर्छु। सपनामा देखेको चितवनमाथि लेख्ने हो भने पनि किताब नै हुन्छ। सपनामा राप्ती नदी तरेको, गाइभैंसी चराएको, साथीहरूसँग खेलेको। फराकिलो फाँटमा दौडिएको देख्छु। यो मेरो मात्रै नभएर आम मान्छेको स्वभाव हो । विदेशमा बसेको पहिलो पुस्ता नेपाली जसलाई आज हामी डायस्पोरा भन्छौँ गैरआवसिय नेपाली भन्छौ सबैको नियति हो। मेरा छोराछोरीले चाहेर पनि चितवनको सपना देख्न सक्दैनन्। उनीहरूले युरोपकै सपना देख्छन्। त्यहीँ हिउँ खेलेको सपना देख्लान्। तर चितवन देख्न सक्दैनन्। मैले उनीहरूलाई चितवन दुईचोटीसम्म लगेँ हुँला। पदमपुर बस्ती थियो। त्यो बस्तीमा जन्मिएको हुँ भन्दा आश्चर्यमा परेका थिए। म साठी वर्षको भएँ। नेपाल आउने जाने गरेँ पनि चालिस वर्ष त मैले बाहिर नै बिताएँ तर पनि मेरो २० वर्ष कहिल्यै बिर्सिन्न। जीवनपर्यन्त मैले सक्दिनँ बिर्सिन। सबैभन्दा उर्वर समय मैले चितवनमा बिताएको छु।