महेन्द्रनगर बजारः सौन्दर्यीकरणसँगै थपियो उत्साह

धनगढी २५ कञ्चनपुर,
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा कञ्चनपुरको महेन्द्रनगर बजारको सौन्दर्यीकरण तथा संरचनागत विकासले स्थानीयमा उत्साह थपेको छ। भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजार क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्यसहित सडक, पैदलमार्ग र अन्य पूर्वाधार निर्माण गरेको हो।

आयोजनाको पहिलो चरणमा १ अर्ब रुपैयाँ लगानीमा १४ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ। साथसाथै २२ किलोमिटर ढल निकास, ४ किलोमिटर रेलिङ, ७७६ वटा स्ट्रीट लाइट र ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ। सडकसँगै अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेनसमेत बनाइएको छ।

भीमदत्त नगरपालिकाका सब–इन्जिनियर पवन लेखकका अनुसार निर्माण सम्पन्न भइसकेको छ भने केही स्थानमा मर्मतसमेत भइरहेको छ। उनका अनुसार दोस्रो चरणमा ८ किलोमिटर सडक र १० किलोमिटर ढल निर्माणका लागि ६६ करोड रुपैयाँ बजेट स्वीकृत भइसकेको छ। आधुनिक शैलीमा ठेक्का आह्वानको तयारी भइरहेको छ।

व्यवस्थित र आकर्षक बजारले लगानीकर्ता र पर्यटक दुवैलाई आकर्षित गरिरहेको स्थानीय व्यवसायीको भनाइ छ। व्यवसायी जगदीशचन्द्र भट्ट भन्छन्, “महेन्द्रनगर अहिले व्यवस्थित र सुरक्षित बनेको छ, जसले व्यापार प्रवर्द्धनमा टेवा दिएको छ।”

पाँचवटा प्रमुख गल्ली रहेको बजार क्षेत्रका गल्लीहरू फरक–फरक व्यवसायिक पहिचानसहित विस्तार भएका छन्। गल्ली नं. १ मा मेडिकल र हार्डवेयर पसलहरू, गल्ली नं. २ मा बैंक र किराना पसलहरू, गल्ली नं. ३ र ४ मा मेडिकल, होटल तथा बैंकहरू छन् भने गल्ली नं. ५ मा पुस्तक पसल तथा भीडभाड बढी हुने क्षेत्रका रूपमा चिनिन्छ।

स्थानीय इन्द्र साउदले गुरुयोजनाअनुसार बजारको सौन्दर्यीकरणमा ध्यान दिँदै अतिक्रमण नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्। उता व्यवसायी कृष्णानन्द भट्टले तार भूमिगत गर्न, हरियाली बढाउन र थप लाइटिङ व्यवस्थापन गर्न सुझाव दिएका छन्।

तत्कालीन राजा महेन्द्रको आदेशमा विसं २०१८ मा स्थापना गरिएको महेन्द्रनगर बजार आज देशकै नमुना बजार बन्ने दिशामा अघि बढेको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply