हेमा भट्ट, जेठ ६
कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०८२/०८३ मा सुरक्षा, सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा परेका सबै ३३३ उजुरी फछ्र्यौट गर्दै प्रहरीले नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको छ।
सीमा नाकाबाट जोखिममा परेका ८० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। हराएका महिला, बालबालिका, जेष्ठ नागरिक तथा पुरुषमध्ये अधिकांशलाई सुरक्षित रूपमा परिवारको सम्पर्कमा ल्याउन सफल भएको विवरणमा उल्लेख छ। हराएका १९६ महिलामध्ये १९२ जना, ५७ बालक सबै, ११८ बालिकामध्ये अधिकांश तथा २२ जेष्ठ नागरिक सबै फेला पारिनु प्रहरीको सक्रियता र संवेदनशीलताको संकेत मानिएको छ।
ट्राफिक व्यवस्थापनतर्फ ६५७१ सवारी साधन कारवाही गरी ४६ लाख ७५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको छ। मापसेविरुद्ध ४६४ जनामाथि कारवाही गरिएको प्रहरीले जनाएको छ। ३४६ पटक सञ्चालन गरिएको ट्राफिक सचेतना कार्यक्रममा २२ हजार ८०० जना लाभान्वित भएका छन्, जसले सुरक्षित सडक संस्कृतिमा सकारात्मक प्रभाव पारेको प्रहरीको विश्वास छ।
सामाजिक सुधार अभियानअन्तर्गत बेदकोट नगरपालिका–१० र कृष्णपुर नगरपालिका–१ मा गरी १५० छाउगोठ भत्काइएको छ। यस अभियानलाई महिला अधिकार र सामाजिक चेतनासँग जोडिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
अपराध अनुसन्धानतर्फ ९०७ मुद्दा दर्ता भएकोमा ५०९ फछ्र्यौट गरिएको छ भने लागूऔषध नियन्त्रणमा पनि प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। विभिन्न प्रकारका लागूऔषध बरामद गर्दै प्रहरीले युवापुस्तालाई कुलतबाट जोगाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।
फरार प्रतिवादी पक्राउ, अभद्र व्यवहार मुद्दामा कारवाही तथा ठाडो उजुरीको उच्च फछ्र्यौट दरले कञ्चनपुर प्रहरी जनविश्वास बढाउन सफल भएको देखिन्छ। प्रत्यक्ष रूपमा परेका २९९५ उजुरीमध्ये २९९४ फछ्र्यौट हुनु सेवा प्रभावकारिताको महत्वपूर्ण सूचक बनेको छ।
“शान्ति सुरक्षा, नागरिक सेवा र सामाजिक उत्तरदायित्व”लाई प्राथमिकतामा राखेर अघि बढेको कञ्चनपुर प्रहरीको यो प्रगति विवरणले जिल्लामा सुरक्षाको अवस्था थप मजबुत बन्दै गएको संकेत गरेको सरोकारवालाले बताएका छन्।
