हेमा भट्ट
कञ्चनपुर, असार २९ – महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा विगत आठ वर्षदेखि सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) भानदेव भट्टको सरुवा बझाङ जिल्ला भएपछि अस्पताल परिवारले सम्मानपूर्वक बिदाइ गरेको छ।


आइतबार आयोजित बिदाइ कार्यक्रममा अस्पताल व्यवस्थापन समितिले भट्टले आठ वर्षको अवधिमा अस्पतालको सुरक्षा, अनुशासन र सेवाप्रतिको समर्पणलाई उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान व्यक्त गरेको हो। विशेषगरी कोरोना महामारीको कठिन समयमा व्यक्तिगत जोखिमको कुनै पर्वाह नगरी अग्रपङ्क्तिमा रहेर अस्पतालको सुरक्षा र सेवा व्यवस्थापनमा पुर्याएको योगदानलाई अस्पतालले अविस्मरणीय रहेको जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद पन्तले भट्टको कर्तव्यनिष्ठा, इमानदारी र सेवाभाव अस्पताल परिवारका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै नयाँ कार्यस्थल बझाङमा पनि सफल कार्यकालको शुभकामना व्यक्त गरे।


यसै अवसरमा लामो समयदेखि अस्पतालमा कार्यरत सुरक्षागार्ड विवेकानन्द अवस्थी र दानबहादुर पालले स्वेच्छिक अवकाश लिएकाले उनीहरूलाई पनि सम्मानसहित बिदाइ गरिएको छ। अस्पतालले दुवै जनाले आफ्नो सेवाकालभर इमानदारी, जिम्मेवारी र समर्पणका साथ निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै स्वस्थ, सुखद र सहज अवकाश जीवनको शुभकामना दिएको छ।
बिदाइ कार्यक्रममा अस्पतालका पदाधिकारी, कर्मचारी तथा व्यवस्थापन समितिका सदस्यहरूले तीनै जनाको सेवाप्रति आभार व्यक्त गर्दै उनीहरूले पुर्याएको योगदान अस्पतालको इतिहासमा सधैं स्मरणीय रहने बताएका थिए।


अध्यक्ष पन्तले भविष्यमा पनि उनीहरूले समाजसेवीका रूपमा आफ्नो अनुभव र सेवाभावलाई निरन्तरता दिँदै अस्पतालसँग सहकार्य गर्ने विश्वास व्यक्त गरे। सम्मान, कृतज्ञता र शुभकामनासहित सम्पन्न भएको उक्त कार्यक्रमले सेवाप्रति समर्पित व्यक्तिहरूको योगदानको कदर गर्ने अस्पतालको संस्कृतिलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।




