कृष्णपुर-३ लाई नमुना बालमैत्री वडा बनाउने अभियान तीव्र

भदौ ४
कञ्चनपुर – कृष्णपुर नगरपालिका-३ लाई नमुना बालमैत्री वडा बनाउने उद्देश्यले बालबालिकाको सशक्तीकरण, सामाजिक सुशासन तथा बाल अधिकारका विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बालबालिकामाथि हुने घरेलु हिंसा, बालविवाह, बाल हिंसा, लागूऔषध दुर्व्यसन, शिक्षा, खेलकुद, नेतृत्व विकास तथा बालबालिकाको उज्ज्वल भविष्य निर्माणका विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले बालबालिकाका समस्या पहिचान गरी समयमै समाधान गर्न परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्षले कृष्णपुर-३ लाई आगामी दिनमा नमुना बालमैत्री वडाका रूपमा विकास गर्न वडा कार्यालयले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो। उहाँले बाल क्लबलाई केवल कार्यक्रम गर्ने संस्थाका रूपमा नभई बालबालिकाका आवाज, समस्या र अधिकारलाई वडा तहसम्म पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा विकास गरिने स्पष्ट पार्नुभयो।

उहाँले गाउँ, टोल तथा बस्तीमा बालविवाह, लागूऔषध र बाल हिंसाविरुद्ध जनचेतना फैलाउन बालबालिकाको भूमिका महत्वपूर्ण हुने बताउँदै सकारात्मक सामाजिक परिवर्तनका लागि बाल क्लबलाई सक्रिय हुन आग्रह गर्नुभयो।

त्यस्तै, १८ वर्ष उमेर पूरा भएका बालबालिकालाई मतदानको अधिकारबारे सचेत गराउँदै निर्वाचनमा जिम्मेवार ढंगले सहभागी हुन प्रेरित गर्ने विषयमा समेत छलफल भएको थियो। लोकतान्त्रिक अभ्यास, नेतृत्व विकास र नागरिक जिम्मेवारीबारे बालबालिकालाई सचेत बनाउनु आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

वडा अध्यक्षले आगामी दिनमा वडाबाट सञ्चालन हुने विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रममा बाल क्लबको महत्वपूर्ण सहभागिता सुनिश्चित गरिने बताउनुभयो। बाल क्लबलाई आवश्यक स्रोत, सहयोग र क्षमता विकासका लागि वडा कार्यालय सधैं तयार रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा खेलकुद क्षेत्रलाई बालबालिकाको प्रतिभा विकास, अनुशासन र नेतृत्व निर्माणको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने विषयमा पनि विशेष छलफल गरिएको थियो। बाल क्लबमार्फत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न आवश्यक बजेट तथा पूर्वाधार व्यवस्थापनमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

बालबालिकाले पनि आफ्ना टोल-बस्तीमा देखिएका समस्या, खेलकुद तथा मनोरञ्जनका अवसरको कमी, लागूऔषधको जोखिम, बालविवाह र बाल हिंसालगायतका विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले बालमैत्री वातावरण निर्माणका लागि वडा कार्यालयसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा कृष्णपुर नगरपालिका-३ का बाल क्लब अध्यक्ष प्रशान्त खत्रीसहित करिब २५ जना बालबालिका, वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकारप्रति सचेत बनाउनुका साथै नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्व र समुदायप्रति जिम्मेवार बन्न प्रेरित गरेको सहभागीहरूको भनाइ छ। बालबालिकालाई केन्द्रमा राखेर सुरक्षित, हिंसामुक्त, लागूऔषधमुक्त र बालमैत्री समाज निर्माण गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *