भदौ ४
हसुलिया – कैलारी गाउँपालिकाको समन्वय तथा UNDP/A2J को सहयोगमा बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुराद्वारा सञ्चालित ‘संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना (A2J)-II’ अन्तर्गत ‘कानुनी सहायता, जवाफदेहिता र जनकेन्द्रित न्यायका लागि महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरण’ कार्यक्रम सम्पन्न भएको छ।
हसुलियामा आयोजित अन्तरक्रियामा महिला, दलित, जनजाति, मुक्त कमैया, कमलरी, हलिया तथा अन्य सीमान्तकृत समुदायका नागरिकले आफूहरूले भोग्दै आएका सामाजिक विभेद, सेवा-सुविधामा पहुँचको समस्या, न्याय प्राप्तिमा देखिएका कठिनाइ तथा विकास प्रक्रियामा हुने असमान सहभागिताका विषय जनप्रतिनिधि र सरोकारवालासमक्ष राखेका थिए।
सहभागीहरूले समान अधिकार, न्यायमा सहज पहुँच, समानता, समान ज्याला तथा राज्यका विभिन्न निकायमा पछाडि पारिएका समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उनीहरूले आफ्ना सवाल र गुनासालाई नीति, योजना तथा बजेट निर्माणसँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएका थिए।
कार्यक्रममा कैलारी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भगवती कुमारी चौधरीले महिला, दलित तथा सीमान्तकृत समुदायको हक-अधिकार सुनिश्चित गर्दै न्यायमा पहुँच अभिवृद्धि गर्न आफू निरन्तर सक्रिय रहेको बताइन्। उनले पालिकाका नीति तथा कार्यक्रमलाई महिला र सीमान्तकृत समुदायमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता अन्तरक्रियाले समुदायका वास्तविक आवश्यकता पहिचान गरी समावेशी योजना निर्माण गर्न सहयोग पुग्ने बताइन्।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामी, वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद चौधरी, वडा नं. ६ का अध्यक्ष प्रेम चौधरी, थारु महिला सञ्जालकी अध्यक्ष कृष्णा चौधरी, बन्दरगौडी विपद् व्यवस्थापन समितिकी अध्यक्ष संगीता चौधरी, थारु महिला अगुवा शान्ति चौधरी, भलमन्सा, MPDS की चन्द्रा शर्मा, माघुराम चौधरीलगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय संघसंस्था, बडघर-भलमन्सा, सहकारी, वन समिति तथा महिला, दलित, जनजाति र अन्य सीमान्तकृत समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन MPDS का राजेन्द्र रैकाले गरेका थिए।
