हेमा भट्ट, बैशाख २९
कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ भगतपुरमा एक किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला दार्चुला मार्मा गाउँपालिका-३ स्थायी घर भई हाल भगतपुरमा डेरा गरी बस्दै आएका १७ वर्षीय आयुष सिंह धामीले कोठाभित्र सिलिङ पंखामा डोरीको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का कार्य सम्पन्न गरेको थियो। मृतकको पाइन्टको खल्तीबाट दुई पानाको हस्तलिखित नोट समेत फेला परेको प्रहरीले जनाएको छ।
मृतकका आफन्त तथा जनप्रतिनिधिको रोहबरमा शव परीक्षण प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
ब्राउन सुगरसहित एक युवक पक्राउ:
कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडाँ मैली क्षेत्रमा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
आज साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका-१ रौलेश्वरका २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले शंका लागी जाँच गर्दा उनको साथबाट १४ ग्राम ८४० मिलिग्राम खैरो धुलो पदार्थ (ब्राउन सुगर जस्तो देखिने लागूऔषध) बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
यसैबीच, पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार तथा सेवनका घटनामा वृद्धि हुँदै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। प्रहरीले लागूऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै निगरानी तथा चेकजाँच कडा पारिएको जनाएको छ। युवापुस्तालाई लागूऔषधको दुर्व्यसनबाट जोगाउन समुदाय, अभिभावक र सरोकारवाला निकायको संयुक्त पहल आवश्यक रहेको स्थानीयको भनाइ छ।

