काबुल, असोज १५ गते । अफगानिस्तानका हेल्मन्ड र कुनार प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई कारबाहीमा नौ महिला तथा बालबालिकाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ। घटनामा ११ जना सर्वसाधारण घाइते भएको पनि अफगान पक्षको दाबी छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार हवाई आक्रमणमा सर्वसाधारणका तीन घर ध्वस्त भएका छन्। उहाँले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य र अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताउनुभयो।
पाकिस्तानले भने कारबाही आतङ्कवादी लुकेका स्थान र शिविरलाई लक्षित गरिएको जनाएको छ। पाकिस्तानको सूचना मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा २२ जना आतङ्कवादी मारिएका छन् भने लक्षित स्थानबाट ठूलो मात्रामा हतियार तथा गोलाबारुद फेला पारेर नष्ट गरिएको छ।
कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर अधिकतम सावधानी अपनाइएको पाकिस्तानको दाबी छ। पाकिस्तानले अफगानिस्तानमा रहेका तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) लगायतका समूहले अफगान भूमिबाट पाकिस्तानमा आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ। अफगानिस्तानले भने टिटिपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ।
दुवै पक्षले सार्वजनिक गरेका हताहतका विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। सीमापार झडप र उग्रवादी गतिविधिलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ। यस वर्षको सुरुदेखि तनाव बढेपछि पाकिस्तानले अफगानिस्तानभित्र पटक–पटक हवाई कारबाही गर्दै आएको छ।
यसैबीच, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले यस वर्ष सीमापार हिंसाका कारण एक हजार १०० भन्दा बढी अफगान नागरिकको मृत्यु तथा घाइते भएको जनाएको छ। पाकिस्तानले भने सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै पाकिस्तानभित्र आक्रमण गर्ने आतङ्कवादीलाई मात्र निशाना बनाइएको बताउँदै आएको छ।
