असोज २८ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन बुधबार नवदुर्गामध्ये चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दसैँघर, पूजा कोठा र शक्तिपीठमा भक्तजनले देवीको पूजाआजा तथा दर्शन गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीनै प्रकारका ताप हटाउने विश्वास गरिन्छ। दुर्गा सप्तशतीको देवी कवचमा पनि त्रिविध तापयुक्त संसार आफ्नो उदरमा धारण गर्ने भगवतीका रूपमा कुष्माण्डाको वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। चौथो दिन कुष्माण्डाको आराधना गरिन्छ भने क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ र देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभाभगवतीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। उपत्यकाबाहिरका मनकामना, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि दर्शनार्थी पुग्ने गरेका छन्।
नवदुर्गाको पूजा आराधना नवमीसम्म चल्नेछ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर नेपालीले बडादसैँ मनाउने परम्परा छ।
