असोज २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्विट्लीले प्रमाणपत्र पेस गर्नुभएको हो।
त्यस्तै, इन्डोनेसियाका लिस्त्योवती, घानाका कोजो बोन्सु, सुडानका मोहम्मद अब्दल्ला अली इल्टोम र ब्रुनाइका सिती आर्निफरिजा बिन्ती हाजी मोहद जैनीले गैरआवासीय राजदूतका रूपमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो।
समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। त्यसअघि राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।
