असोज २८ । संखुवासभाको दुर्गम भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ। यसअघि लघु जलविद्युत्मा निर्भर स्थानीय बासिन्दाले अब राष्ट्रिय प्रणालीबाट विद्युत् सेवा पाउने भएका छन्।
प्रसारण लाइन विस्तारसँगै गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ। यसबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल र घरेलु उद्योगलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो बनाउन खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, प्राविधिक तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको छ। राष्ट्रिय प्रसारण प्रणालीले विद्युत् सेवाको विश्वसनीयता बढाउनुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा सहयोग पुग्ने उहाँको भनाइ छ।
चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तारको तयारी अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको र चालु आर्थिक वर्षभित्रै विद्युत् पुर्याउने लक्ष्य राखेको छ।
प्राधिकरणका अनुसार संखुवासभाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा लघु जलविद्युत् र सौर्य ऊर्जामार्फत सेवा उपलब्ध हुँदै आएको छ।
हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि भोटखोलाका अन्य दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने प्रयासले गति लिने अपेक्षा गरिएको छ। किमाथाङ्कासम्म लाइन पुर्याउने लक्ष्य पूरा भए सीमावर्ती क्षेत्रमा विद्युत् पहुँच विस्तारमा थप उपलब्धि हासिल हुनेछ।
