मुस्ताङ, असोज २८ । कुनै बेला हिमालपारि नुन र ऊनको कारोबार हुने प्राचीन रेशमी मार्गको इतिहास अहिले दसैँमा मुस्ताङका च्याङ्ग्रा बजार झार्ने परम्परामा जोडिएको छ। पुस्तौँदेखि चल्दै आएको यो व्यापारले हिमाली क्षेत्र र देशका ठूला सहरबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङ्ग्रा व्यापारी निरज थकालीका अनुसार मुक्तिनाथ आउने तीर्थयात्रीमार्फत मुस्ताङी च्याङ्ग्राको मासुको स्वाद देशका विभिन्न भागमा फैलिएको हो। विगतमा नुन र ऊनको व्यापारका लागि प्रयोग हुने मार्गको विरासत दसैँमा च्याङ्ग्रा बिक्री गर्न बजार झर्ने चलनले जोगाएको उहाँको भनाइ छ।
मुस्ताङका लेकाली खर्कबाट सुरु हुने च्याङ्ग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ हुँदै पोखरा, काठमाडौँ, चितवन, बुटवल, स्याङ्जा र नुवाकोटलगायत सहरसम्म पुग्छ। नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार च्याङ्ग्रा व्यापारले हिमाली जीवनशैली र स्थानीय अर्थतन्त्रलाई सहरी बजारसँग जोडिरहेको छ।
उपल्लो मुस्ताङका किसानका लागि च्याङ्ग्रापालन परम्परागत पेसा र आम्दानीको प्रमुख स्रोत हो। लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैँका लागि ७०० च्याङ्ग्रा बिक्री गर्न बजार झर्नुभएको छ। उहाँले किसानबाट खरिद गरेका र आफ्नै गोठमा पालेका च्याङ्ग्रा बिक्री गर्दै पुर्खाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङ पनि तीन दशकदेखि च्याङ्ग्राको व्यापारमा संलग्न हुनुहुन्छ। यस्तै, श्रेष्ठले बुबाबाट सिकेको व्यवसायलाई छ दशकदेखि अघि बढाउँदै आउनुभएको छ। यस वर्ष काठमाडौँ पठाउन एक हजार च्याङ्ग्रा मुस्ताङबाट सात दिन लगाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी ल्याइएको उहाँले बताउनुभयो। उहाँको व्यवसायमा १६ जनाले मौसमी रोजगारी पाएका छन्।
श्रेष्ठका अनुसार यस वर्ष काठमाडौँका लागि तीन हजार च्याङ्ग्रा लैजाने तयारी छ। चीनसँगको कोरला नाका बन्द रहेकाले बजारमा आउने च्याङ्ग्रा स्वदेशकै हुन्। नाम्ग्याल, छोसेर, यारा र घारालगायत क्षेत्रबाट एक महिनाअघि नै च्याङ्ग्रा सङ्कलन गरिएको थियो। हाल बजारमा एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ५० हजार रुपैयाँसम्म छ।
हिमाली बुकीमा जडीबुटी खाएर हुर्किने च्याङ्ग्राको मासु पौष्टिक हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतम बताउनुहुन्छ। व्यापारीका अनुसार पाँच वर्षसम्म पालिएका च्याङ्ग्राको मासु स्वादिलो हुन्छ। च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चापदार्थका रूपमा समेत प्रयोग गरिन्छ।
तर, परम्परागत च्याङ्ग्रापालन व्यवसायमा चुनौती थपिँदै गएको छ। छोसेरमा पहिले २५ वटा च्याङ्ग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्रै बाँकी रहेको व्यापारी गुरुङले बताउनुभयो। हिउँचितुवाबाट पशु जोगाउनुपर्ने समस्या, हिउँदमा चरन र आहाराको अभाव, गोठालाको कमी तथा युवाको वैदेशिक रोजगारीतर्फको आकर्षणले व्यवसाय सङ्कटमा परेको स्थानीयको भनाइ छ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार ८१७ भेडाच्याङ्ग्रा निकासी भएका छन्। कार्यालय प्रमुख लालमणि अर्यालका अनुसार ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको हो। गत वर्ष जिल्लाबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए। मुस्ताङका चार गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएको अनुमान छ।
यस वर्ष बाढीपहिरोले सडक बिगारेपछि च्याङ्ग्रा ओसारपसारमा पनि समस्या भएको व्यापारीले बताएका छन्। खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिँदा कतिपय ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपरेको उनीहरूको भनाइ छ। विशेषगरी बेनी–जोमसोम सडकको म्याग्दी खण्ड क्षतिग्रस्त हुँदा ढुवानी चुनौतीपूर्ण बनेको छ। सडक छिटो सञ्चालनमा आएकाले भने व्यवसायीलाई केही राहत मिलेको छ।
च्याङ्ग्रा व्यापारले आम्दानी र रोजगारीसँगै हिमाली क्षेत्रको पुरानो व्यापारिक परम्परा पनि जोगाइरहेको छ। तर, पशुपालन घट्दै जानु र ढुवानीमा कठिनाइ बढ्नुले यो विरासतलाई निरन्तरता दिन चुनौती थपिएको छ।
