डब्लिन, असोज २८ गते । अमेरिकी प्रविधि कम्पनी गुगलले युरोपका २०० अनुसन्धानकर्तालाई आफ्ना उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल र वैज्ञानिक उपकरणमा पहुँच दिने भएको छ। यसबाट वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासलाई गति दिने अपेक्षा गरिएको छ।
डब्लिनमा आयोजित एआई शिखर सम्मेलनका क्रममा गुगलले अनुसन्धानकर्तालाई आवश्यक कम्प्युटिङ क्षमता र अत्याधुनिक उपकरण उपलब्ध गराउने घोषणा गरेको हो। युरोपेली आयोगको ‘युरोपमा एआई विज्ञानका लागि स्रोत’ योजनाअन्तर्गत छनोट भएका अनुसन्धान टोलीले गुगल डिपमाइन्ड र गुगल क्लाउडका प्रविधि प्रयोग गर्न पाउनेछन्।
उपलब्ध गराइने प्रविधिमा अल्फाफोल्ड–३, वेदरनेक्स्ट, अल्फाजेनोम, अल्फाइभोल्भ र अल्फाअर्थ फाउन्डेसन्स छन्। अल्फाफोल्ड–३ ले प्रोटिन तथा जैविक अणुको संरचना र अन्तरक्रियाबारे अध्ययन गर्न सहयोग गर्छ भने वेदरनेक्स्ट मौसम पूर्वानुमानका लागि प्रयोग हुन्छ। अन्य प्रविधिले जीन, जैविक प्रणाली र पृथ्वीसम्बन्धी अनुसन्धानमा सघाउनेछन्।
यी उपकरणको सहायताले अनुसन्धानकर्ताले ठूलो परिमाणका वैज्ञानिक तथ्याङ्क विश्लेषण गर्न र जटिल समस्याको अध्ययनलाई प्रभावकारी बनाउन सक्ने गुगलको अपेक्षा छ। यो पहल युरोपको वैज्ञानिक क्षमता बढाउने र विश्वव्यापी अनुसन्धानमा प्रतिस्पर्धात्मक स्थिति बलियो बनाउने प्रयासको हिस्सा हो।
एआईको प्रयोग विस्तार भइरहेका बेला यसको सुरक्षित र जिम्मेवार प्रयोग तथा नियमनबारे पनि चासो बढिरहेको छ। त्यसैले अनुसन्धानमा पहुँच बढाउनुका साथै प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गर्नु महत्त्वपूर्ण मानिएको छ।
रासस/सिन्ह्वा
