बाजुरा, असोज २८ गते । बाजुराका किसानले यस वर्ष स्याउ बिक्रीबाट एक करोड ६२ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन्। उत्पादन राम्रो भए पनि सडक अवरुद्ध र ढुवानी अनुदानको अभावले अपेक्षित आम्दानी गर्न नसकेको किसानको गुनासो छ।
भदौ १५ देखि असोज मसान्तसम्म बिक्री गरिएको स्याउबाट किसानले गत वर्षको तुलनामा १२ लाख रुपैयाँ बढी आम्दानी गरेका हुन्। सडक समयमै सञ्चालनमा आएको भए आम्दानी करिब दुई करोड रुपैयाँ पुग्न सक्ने किसानको अनुमान छ।
जिल्लामा स्वामिकार्तिकका किसानले एक करोड, बुढीनन्दा नगरपालिकाका किसानले ५० लाख, जगनाथका किसानले १० लाख र हिमालीका किसानले दुई लाख २० हजार रुपैयाँको स्याउ बिक्री गरेका छन्।
मार्तडी–कोल्टी सडक समयमै नखुल्दा बुढीनन्दाका किसानले स्याउ बजारसम्म पुर्याउन समस्या भोगे। पाकेको स्याउ समयमा बिक्री गर्न नपाउँदा क्षति बेहोर्नुपरेको कृषि शाखा प्रमुख दीपक कार्कीले बताउनुभयो। जगनाथमा भने स्याउ पाक्ने समयमा बाँदरले खाँदा किसानलाई नोक्सानी भएको कृषि शाखा प्रमुख रिनेश कटेलले जानकारी दिनुभयो।
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा ४१० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकामा करिब २०० हेक्टरमा उत्पादन भइरहेको छ। गत वर्ष ढुवानी अनुदान पाएका किसानले यस वर्ष बजेट ढिलो आएका कारण अनुदान पाउन सकेका छैनन्।
