असोज २९ गते । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गामध्ये स्कन्दमाताको पूजाआराधना गरिँदै छ। भगवान् शिव र माता पार्वतीका पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँलाई स्कन्दमाता भनिएको धार्मिक मान्यता छ।
सिंहलाई वाहन बनाउनुभएकी स्कन्दमाताको स्वरूप शान्त र ममतामयी मानिन्छ। चार हात भएकी देवीको काखमा बालक स्कन्द विराजमान छन्। उहाँका हातमा कमलका फूल र वरमुद्रा रहेको धार्मिक वर्णन छ। कमलको आसनमा विराजमान हुने भएकाले उहाँलाई पद्मासना देवी पनि भनिन्छ।
पौराणिक कथाअनुसार तारकासुर नामक राक्षसले शिवजीका पुत्रबाट मात्रै मृत्यु हुने वरदान पाएपछि तीनै लोकमा अत्याचार मच्चाएको थियो। देवताहरूको प्रार्थनापछि माता पार्वतीले कठोर तपस्या गरी शिवजीसँग विवाह गर्नुभयो। त्यसपछि जन्मिएका स्कन्दले देवसेनाको नेतृत्व गर्दै तारकासुरको वध गरेको कथन छ।
स्कन्दमाताको पूजा गर्नाले मनोकामना पूरा हुने, शान्ति प्राप्त हुने र सन्तान सुख मिल्ने धार्मिक विश्वास छ। उहाँको आराधनाले ज्ञान प्राप्त हुने मान्यतासमेत रहिआएको छ।
बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
