कात्तिक २ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अलअमरात क्रिकेट मैदानमा खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।
नेपालका लागि यो खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन निर्णायक छ। ओमानलाई हराए नेपालले लिग–२ को शीर्ष छ स्थानमा रहँदै सोझै मान्यता जोगाउनेछ। पराजित भए एकदिवसीय मान्यता कायम राख्न विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
क्यानडासँग पछिल्लो खेलमा २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो। छैटौँ स्थानको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो भएकाले खेल रद्द भई एक अङ्क पाए पनि शीर्ष छमा पुग्ने सम्भावना छ। तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यसहित मैदान उत्रनेछ।
नेपालले यसअघि यही शृङ्खलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले हराएको थियो। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच भएका १२ खेलमा दुवैले समान ६–६ जित निकालेका छन्। पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई हराएको छ।
