पोखरा, कात्तिक २१ गते । तिहार नजिकिएसँगै मुस्ताङ, डोल्पा र मुगुलगायत हिमाली जिल्लाबाट व्यापारी भेँडाच्याङ्ग्रा लिएर पोखरा आइपुगेका छन्। बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा च्याङ्ग्रा राखिएको छ।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङका अनुसार तिहारका लागि मुस्ताङबाट ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ भने ५०० काठमाडौं पठाइएको छ। यस वर्ष पोखरा भित्रिएका रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ४० हजार रुपैयाँसम्म रहेको उहाँले बताउनुभयो।
छिरिङले साथी निरज थकालीसँग मिलेर ५५ च्याङ्ग्रा पोखरा ल्याउनुभएको छ। दसैँमा तीन सयभन्दा बढी च्याङ्ग्रा बिक्री गरेको उहाँले तिहारमा माग तुलनात्मक रूपमा कम भए पनि यसपटक अघिल्ला वर्षभन्दा बढी च्याङ्ग्रा पोखरा आएको बताउनुभयो।
पोखराको सिमपानीका सात–आठ स्थानबाट भेँडाच्याङ्ग्रा बिक्री भइरहेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि चार दिनको यात्रा गरेर भेँडाच्याङ्ग्रा लिएर पोखरा पुग्नुभएको छ। उहाँसँग अधिकांश भेँडा र साँढ तथा केही च्याङ्ग्रा छन्।
डोल्पाका सन्तोष धराला १५० च्याङ्ग्रा लिएर पोखरा आउनुभएको छ। उहाँका अनुसार चाडपर्वमा च्याङ्ग्रा बिक्री गर्न पोखरा आउन थालेको तीन वर्ष भएको छ। च्याङ्ग्रा व्यापार नै मुख्य पेसा भएकाले घाटा–नाफा जे भए पनि व्यवसायलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।
व्यापारीका अनुसार दसैँ–तिहारका बेला च्याङ्ग्रा बिक्रीबाट एक व्यापारीले डेढदेखि दुई लाख रुपैयाँसम्म कमाइ गर्ने गरेका छन्। तर टाढाबाट च्याङ्ग्रा ल्याउँदा ढुवानी, खाना र बासमा ठूलो खर्च हुने गरेको छ।
मुस्ताङको जोमसोम, कागबेनी र चमरलगायत क्षेत्रबाट च्याङ्ग्रा ल्याएर म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा पुर्याइन्छ। पोखराबाट काठमाडौंसम्म पनि च्याङ्ग्रा पठाउने गरिएको छ। केही व्यापारीले ट्रकमार्फत र केहीले हिँडाएरै लामो यात्रा तय गरी बजारसम्म ल्याउने गरेका छन्।
च्याङ्ग्राको मासु अन्य समयमा सहजै उपलब्ध नहुने भएकाले उपभोक्ताले विशेषगरी दसैँ र तिहारका बेला यसको प्रतीक्षा गर्ने गरेका छन्। हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्राको मासु स्वादका कारण उपभोक्ताको रोजाइमा पर्ने गरेको छ।
