धनगढी कात्तिक २८ – सुदूरपश्चिमको पहिचान, गौरव र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न खेलकुद क्षेत्र महत्वपूर्ण माध्यम बन्न सक्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढी रंगशालामा आयोजित दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले खेलकुदलाई प्रतिभा प्रस्फुटन, अनुशासन र राष्ट्रको प्रतिष्ठासँग जोड्नुपर्ने बताउनुभयो।
उहाँले सुदूरपश्चिममा प्रतिभावान् खेलाडीको कमी नभएको उल्लेख गर्दै उनीहरूको क्षमता पहिचान, विकास र प्रोत्साहनका लागि राज्यले पर्याप्त अवसर तथा आवश्यक पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।
खेलकुद केवल प्रतिस्पर्धा र पदक जित्ने माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, आपसी एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने महत्वपूर्ण क्षेत्र भएको उहाँको भनाइ थियो। स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई उचित अवसर दिन सके सुदूरपश्चिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताअन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा विभिन्न खेल विधाका छनोट प्रतियोगिता सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान गर्नुका साथै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र राष्ट्रियस्तरमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
