वालिङ उद्योग वाणिज्य सङ्घको अधिवेशन अन्योलमा

वालिङस्थित व्यापारीको संस्था वालिङ उद्योग वाणिज्य सङ्घको अधिवेशन अन्तिम दिनमा आएर स्थगित भएको छ । सङ्घको १६औँ साधारणसभा तथा आठौँ अधिवेशन शनिबारका लागि तोकिए पनि केही घण्टा अगाडि मात्रै पहिलाको सहमति कार्यान्वयन नहुँदा स्थगित भएको हो । यसअघि पनि सङ्घको १५औँ साधारणसभा तथा सातौँ अधिवेशन समयमा नभएपछि तत्कालीन अन्योल हटाउन र अधिवेशन गर्नका लागि वालिङ नगरपालिकाले समन्वय गरी गोलाप्रथाबाट २०७५ असार १ गते नयाँ कार्यसमिति चयन गरेको थियो । नगरपालिकाको उपस्थितिमा सङ्घका सल्लाहकार तथा विभिन्न राजनीतिक दलसहितको २०७५ जेठ १५ गतेको छलफलबाट नेपाली कांग्रेस र नेकपा (एमाले) निकट देखिएका व्यवसायीको समूहलाई सहमतिमा पद बाँडफाँट गर्ने, सहमति नभए गोलाप्रथाबाट नेतृत्व छनोट गर्ने निर्णय भएको थियो । तत्कालीन समयमा भएको निर्णयअनुसार एक पक्षले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र चार सदस्य तथा अर्को पक्षले वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष र पाँच सदस्य बनाउने रहेको थियो । पदको बाँडफाँटमा सहमति भई गोलाप्रथा गर्दा एमाले निकटका व्यवसायीको समूह अध्यक्ष र नेपाली कांग्रेस निकटका व्यवसायी वरिष्ठ उपाध्यक्षसहितका पदमा छनोट भएका थिए । सोही बैठकले स्याङ्जा जिल्लाभर रहेका कार्यक्षेत्रलाई संशोधन गरी वालिङ नगरपालिकाभित्र बनाउने र वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गर्ने लिखित सहमति भएको सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । दुई पक्षबीच तत्कालीन समयमा सहमति गरी १५औँ साधारणसभा तथा सातौँ अधिवेशन गरेर अन्योल हटाइएको तर अहिले सोही सहमति कार्यान्वयन नगरेपछि अधिवेशन स्थगित गर्नका लागि नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेको उहाँले बताउनुभयो । वालिङ नगरपालिकाको न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार विवाद समाधान नहुँदासम्म तत्काल अधिवेशन नगर्न पत्राचार गरेसँगै स्थगित भएको हो । “तत्कालीन समयमा पनि समयमै अधिवेशन गर्न नसकेपछि अन्योलमा रहेको सङ्घलाई निकास दिनका लागि जुन सहमति भयो सोही सहमतिको कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो, “तत्कालको अन्योल हटाउनका लागि सहमति गर्ने तर गरिएको सहमतिबाट पछाडि हटेर कार्यान्वयनमा आनाकानी गरिएपछि बाध्य भएर अधिवेशन रोक्न न्यायिक समितिमा उजुरी गरेका हौँ ।” यसअघि भएको सहमतिलाई कार्यान्वयन नगर्दासम्म अधिवेशन हुन नसक्ने अडान उहाँको छ । यसअघि गरिएका सहमतिलाई मध्यनजर गर्दै अधिवेशनका लागि सात सदस्यीय निर्वाचन समिति बनेको थियो । उक्त समितिले काम गर्ने गरी सहमति भए पनि अन्तिम समयमा आएर अधिवेशन स्थगित गर्नुपरेको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । शनिबार अधिवेशन गर्ने निर्णय गरी तयारी गरिए पनि अन्तिम समयमा आएर अधिवेशन स्थगित भएको हो । उद्योगी व्यापारीको संस्था वालिङ उद्योग वाणिज्य सङ्घमा पछिल्लो समय राजनीतिक खिचातानी हुने गरेको भन्दै स्थानीय व्यापारी आक्रोशित छन् । कोभिडका समयमा उद्योगी व्यापारीको हकहित तथा व्यवसाय प्रवद्र्धनका योजना ल्याउनुको सट्टा उल्टै व्यवसायीलाई नवीकरण शुल्कको भार थपेको व्यवसायीको गुनासो छ । उद्योगी तथा व्यापारीको संस्थामा पछिल्लो समय राजनीतिक दाउपेचकै कारण यसको उद्देश्यअनुरूप अगाडि बढ्न नसक्दा कतिपय व्यवसायीले सामाजिक सञ्जालमा संस्था खारेज गर्नुपर्ने अभिव्यक्ति प्रकट गरेका छन् । अन्तिम समयमा आएर स्थगित भएको अधिवेशन तथा समस्या समाधानका लागि राजनीतिक दल तथा सङ्घका सल्लाहकार पार्टीको आन्तरिक तथा संयुक्त छलफलमा जुटिरहेका छन् । छलफल भइरहे पनि अहिलेसम्म निकास निस्कन सकेको छैन । सङ्घमा गत अधिवेशनसम्म एक हजार चार सय २० सदस्य आबद्ध रहे पनि हाल पाँच सय ५० जनाले मात्रै नवीकरण गरेका छन् । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply