राष्ट्रिय सभा अध्यक्षमा माओवादी-कांग्रेस होलान् आमनेसामने?

१६ फागुन धनगढी
राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि राष्ट्रिय सभामा गठबन्धनको उम्मेदवारबारे अन्यौल बढेको छ।

हालै सम्पन्न कांग्रेसको महासमिति बैठकमा माओवादीलाई हेर्ने दृष्टिकोण, गठबन्धनबारेको धारणा र सनातन हिन्दु राष्ट्रको मत बढेको भन्दै मंगलबार स्थायी कमिटी सदस्यहरूले कांग्रेससँगको गठबन्धनबारे सोच्नुपर्ने बताएका थिए।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी सदस्यहरूको धारणालाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने र आफ्नै उम्मेदवार तयार गर्नुपर्ने बताए।

‘कांग्रेसबाट हामीलाई पटक-पटक धोका भएकै हो। पछिल्लो कडी राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा देखियो,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,‘अहिले तपाईंहरू उठाउनुभएको यी तीन कुरा गम्भीर छन्। अहिले नै गठबन्धन तोड्ने भनेर त नजाऔं, राष्ट्रिय सभा अध्यक्षका लागि आफ्नै उम्मेदवार तयार गरौं। हामीले छोड्नुहुँदैन।ֹ’

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले पनि राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्र आफैंले उम्मेदवार उठाउने निर्णय भएको बताए।

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवार उठाउने निर्णय गरेसँगै त्यसको तयारी गरेर नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा सदस्य बनाएको कांग्रेसमा तरंग पैदा भएको छ।

कांग्रेस अहिले राष्ट्रिय सभामा दोस्रो दल हो। गत निर्वाचनसँगै पहिलो भएको माओवादीको राष्ट्रिय सभामा १७ सिट छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेससँग १६ सिट छ। ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्ष बन्न कम्तीमा २९ मत चाहिन्छ। यसमा माओवादीले एमालेसँग साथ लिने तयारी गरेको छ।

राष्ट्रिय सभामा माओवादीलाई अध्यक्ष बनाउन एमाले पनि सकारात्मक भएको र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डका बीचमा यसबारे काफी छलफल भइसकेको स्रोतको दाबी छ।

एमालेका अध्यक्ष ओलीले सिटौलाभन्दा माओवादीकै कोही नेता राष्ट्रिय सभा अध्यक्ष भएको आफूले देख्न चाहेको र सहयोग गर्ने आश्वासनसमेत दिइसकेको एमालेका एक पदाधिकारीले बताए।

यसो गरे माओवादीले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ मा एमालेलाई माओवादीले सघाउने र राष्ट्रिय सभा उपाध्यक्ष पनि एमालेले पाउन सक्ने आकलन एमालेभित्र छ।

राष्ट्रिय सभामा अहिले एमालेका १० जना सदस्य छन्। प्रचण्डले गत निर्वाचनमा राष्ट्रिय सभामा एमालेलाई पनि भागबण्डा गर्न भगीरथ प्रयत्न गरेका थिए। तर अन्तिममा उनीहरूका बीचमा कुरा मिलेको थिएन।

राष्ट्रिय सभा निर्वाचन हुनुअघिसम्म माओवादीले अध्यक्षमा दाबी गरेको थिएन। सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको घोषणामा माओवादीको पनि मौन समर्थनजस्तै थियो। तर गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट माओवादीको उम्मेदवार चम्पादेपी कार्की पराजित भएपछि माओवादीभित्र कांग्रेसविरोधी मत बढेको हो। त्यसमाथि कांग्रेसले महासमिति बैठकमा गठबन्धन र माओवादी विरोधी कुरा गरेपछि यो पार्टी थप रूष्ट भएको छ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले माओवादीको निर्णयबारे आफूहरूले थाहा पाएको र त्यसबारे थप निर्णय गर्न पार्टीको बैठक बस्ने बताए।

उनले कुनै राजनीतिक दलले कुनै निर्वाचनका लागि उम्मेदवार उठाउने निर्णय गर्नुलाई नकारात्मक रूपमा हेर्न नहुने बताए।

‘दलहरूको आआफ्नो प्रक्रिया हुन्छ। माओवादीको निर्णयलाई अन्यथा लिनुहुँदैन,’ विश्वकर्माले सेतोपाटीसँग भने, ‘अहिले हाम्रा आ-आफ्ना उम्मेदवार भए पनि चुनावसम्म सहमति गरेर गठबन्धनको साझा उम्मेदवार बनाउँछौं। जो भए पनि राष्ट्रिय सभाको अध्यक्ष गठबन्धबाट हुनुहुन्छ।’

उनले राष्ट्रिय सभा उम्मेदवारबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक छिट्टै बस्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply