हेमा भट्ट २५ चैत २०८१
कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाले आधारभूत तह कक्षा ८ को वार्षिक नतिजा सार्वजनिक गरेको छ, जसमा शिक्षा क्षेत्रको गम्भीर अवस्थालाई उजागर गरेको देखिन्छ। गाउँपालिका भित्रका १४ विद्यालय सहभागी परीक्षामा जम्मा ३९९ विद्यार्थी सहभागी हुँदा केवल ९६ जना (२४%) मात्र उत्तीर्ण हुनु शिक्षा क्षेत्रमा गम्भीर ध्यान दिनुपर्ने संकेत हो।
यसपटक सगरमाथा शिक्षा एकेडेमी, झर्नासागरले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। १० जना विद्यार्थीमध्ये ९ जना उत्तीर्ण हुँदा विद्यालयको सफलता दर ९०% रहेको छ। यस विद्यालयका प्रिन्सिपल गोरख बहादुर चन्दले शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको मेहनतकै कारण सफलता सम्भव भएको भन्दै शैक्षिक गुणस्तर अझ सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
तर, अर्कोतर्फ सरकारी विद्यालयहरूको नतिजा भने अत्यन्त निराशाजनक देखिएको छ। उदाहरणका लागि, राधाकृष्ण जनप्रिय आवि बैवाह र सिद्धनाथ आवि सिद्धचोकबाट एक जना विद्यार्थीसमेत उत्तीर्ण हुन नसक्नु चिन्ताको विषय हो। यस्तै, सरस्वती जनता मावि बैवाहका ६९ विद्यार्थीमध्ये २५ मात्र उत्तीर्ण हुनु वा रौलेश्वरका ४१ जनामध्ये ३ मात्र पास हुनु सरकारी विद्यालयहरूको व्यवस्थापन, पठनपाठन र विद्यार्थीको स्तरमा गम्भीर कमजोरी रहेको संकेत हो।
शिक्षा सरोकारवालाहरूले पनि यस्तो स्थितिमा तत्काल सुधारात्मक कदम चाल्नु अपरिहार्य भएको बताएका छन्। शिक्षकको योग्यता, विद्यार्थीको नियमितता, पठनपाठनको शैली, अभिभावकको भूमिका र विद्यालय प्रशासनको उत्तरदायित्व सबै पक्षमा पुनरावलोकन गर्न जरुरी देखिन्छ।
बेलडाँडी गाउँपालिकाको यो नतिजा केवल स्थानीय प्रशासनका लागि मात्र होइन, शिक्षा मन्त्रालय र नीति निर्माणकर्ताहरूका लागि पनि चेतावनी हो—अब सुधारको विकल्प छैन।