खेमराज भट्ट,असार २४
बर्दिया- भन्सार छली तथा अवैध आयात नियन्त्रण अभियानलाई तीव्र बनाइरहेको प्रहरीले बर्दियामा ठूलो परिमाणमा अवैध सामान बरामद गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। जिल्लाको मधुवन नगरपालिका-४ स्थित सडकखण्डमा गरिएको नियमित चेकजाँचका क्रममा करिब १७ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरका भन्सार छलीका सामान बोकेको मिनी ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार कैलालीबाट तारातालतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ क १९९१ नम्बरको मिनी ट्रक शंकास्पद देखिएपछि रोकी जाँच गर्दा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका ठूलो परिमाणका फेन्सी कपडा तथा अन्य सामग्री फेला परेको थियो। त्यसपछि ट्रकमा रहेका सम्पूर्ण सामान नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको हो।
मिनी ट्रक चालक कैलालीको घोडाघोडी नगरपालिका-११, पहलमानपुर निवासी ४४ वर्षीय चुनु राम चौधरी र ट्रकमा सवार टिकापुर नगरपालिका-१, बगरैयागाउँ निवासी ३० वर्षीय अजय चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद गरेको सामानमा विभिन्न प्रकारका प्लास्टिक रेनकोट, टिसर्ट, जिन्स, ट्राउजर, स्पोर्ट्स हाफ पाइन्ट, अन्डरवेयर, बेल्ट, क्याप, छाता, खादा लगायतका सामग्री रहेका छन्। बरामद सामानको मात्रै अनुमानित मूल्य १७ लाख ६३ हजार ६ सय रुपैयाँ रहेको छ भने मिनी ट्रकसहितको कुल मूल्य करिब ३२ लाख ६३ हजार ६ सय रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानमा ४९१ थान सिंगल प्लास्टिक रेनकोट, ४४७ थान डबल प्लास्टिक रेनकोट, १९४ थान बालबालिकाका डबल रेनकोट, २,३०९ थान टिसर्ट, १,१७० थान अन्डरवेयर, ४५८ थान जिन्स तथा कटन हाफ पाइन्ट, ४४४ थान फुल जिन्स तथा कटन पाइन्ट, ३३१ थान ट्राउजर, ३३८ थान स्पोर्ट्स हाफ पाइन्ट, ३३७ थान क्याप, १५८ थान साना छाता, ५३ थान हेड छाता, १३२ थान कालो बेल्ट, ४० थान लक बेल्ट, १०० थान खादा, ४३ थान विन्ड चिटर र २९ थान टेबल रहेका छन्।
प्रहरीले बरामद सामान, मिनी ट्रक तथा नियन्त्रणमा रहेका दुवै व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय, गुलरिया पठाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहरा का अनुसार सीमा क्षेत्र हुँदै हुने भन्सार छली, अवैध आयात तथा राजस्व चुहावट नियन्त्रणका लागि नियमित निगरानी, चेकजाँच र विशेष अभियानलाई अझ प्रभावकारी बनाइएको छ। उनले कानुनविपरीत हुने यस्ता गतिविधिविरुद्ध प्रहरीको निगरानी निरन्तर रहने र कसैलाई पनि छुट नदिइने स्पष्ट पारे।
