असाेज,५
कैलाली – निर्माण व्यवसायीले ठेक्का सम्झौता, कानुनी प्रक्रिया, प्राविधिक जटिलता तथा प्रशासनिक झन्झटमा भोग्दै आएका समस्या समाधानका लागि सुदूरपश्चिम प्रदेशमा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालनमा आएको छ।
नेपाल निर्माण व्यवसायी महासंघको नीतिअनुसार सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले स्थापना गरेको शाखाले निर्माण व्यवसायीलाई समस्या उत्पन्न भएपछि मात्र होइन, समस्या पहिचानदेखि समाधानको प्रक्रियासम्म आवश्यक परामर्श उपलब्ध गराउने जनाएको छ।
शाखामा कानुनी परामर्शका लागि अधिवक्ता सिद्धराज ओझा र प्राविधिक विषयमा इन्जिनियर होमबहादुर तामाङ कार्यरत रहनेछन्।

शाखाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठीले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै सेठीले मुलुकको पूर्वाधार निर्माण र आर्थिक गतिविधिमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पछिल्लो समय व्यवसायीले कानुनी, नीतिगत, ठेक्का सम्झौता तथा प्राविधिक तहमा विभिन्न जटिलता सामना गरिरहेको बताए।
उनले नयाँ शाखामार्फत कानुनी विवाद, ठेक्का सम्झौतासम्बन्धी विषय, प्राविधिक समस्या तथा प्रशासनिक प्रक्रियामा देखिने अन्योलबारे व्यवसायीलाई आवश्यक परामर्श, मार्गदर्शन र समाधानको बाटो पहिल्याउन सहयोग पुग्ने बताए। सेठीले प्रदेशभरिका निर्माण व्यवसायीलाई शाखाबाट उपलब्ध हुने सेवाको अधिकतम उपयोग गर्न आग्रह गरे।
महासंघका अनुसार शाखा सञ्चालनपछि निर्माण व्यवसायीले आफ्ना समस्या सम्बन्धित विज्ञसमक्ष प्रत्यक्ष राखेर आवश्यक कानुनी तथा प्राविधिक सुझाव लिन सक्नेछन्। यसले निर्माण व्यवसाय सञ्चालनका क्रममा देखिने विवाद, प्रक्रियागत अन्योल र प्राविधिक कठिनाइ न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार कपाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लक्ष्मण साउदसहित प्रदेश तथा जिल्लाका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।
महासंघका महासचिव खेमराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए भने मानार्थ सदस्य टेण्डी शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

