दार्चुलाका बाढीपीडितलाई प्रदेश सरकारको राहत, ५० कम्बल र ४० टेन्ट हस्तान्तरण

धनगढी -;बाढीबाट प्रभावित दार्चुलाको व्यास गाउँपालिका-४ मणगाउँका नागरिकलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ। विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले राहत पठाएको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत पठाइएको राहत सामग्री आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधि तथा बाढीपीडितलाई हस्तान्तरण गर्नुभएको हो। राहत हस्तान्तरण कार्यक्रममा लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी लगायत स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

प्रदेश सरकारले उपलब्ध गराएको राहत सामग्रीमा ५० थान कम्बल, ४० थान टेन्ट लगायत तत्काल आवश्यक पर्ने सामग्री रहेका छन्। बाढीका कारण आवास तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई यी सामग्रीले तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री थारूले विपद्का बेला प्रभावित नागरिकको साथमा सरकार रहने बताउँदै तत्काल राहतसँगै आवश्यकताका आधारमा थप सहयोग र व्यवस्थापनमा समेत प्रदेश सरकार सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको अवस्था र आवश्यकताको मूल्याङ्कन गर्दै आगामी दिनमा पनि राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *