मुक्त कमैयाको समस्या बजेटमै सम्बोधन गरिने:मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास, जीविकोपार्जन तथा पुनःस्थापनासँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकारले आगामी बजेटमै आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

आवाससँगै गास र बासको समस्या समाधानको माग राख्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले वर्षौंदेखि समाधान हुन नसकेका समस्या अब योजनाबद्ध रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो।

मुक्त कमैयाको अवस्था र उनीहरूले भोग्दै आएका समस्याबारे प्रतिनिधिमण्डलसँग जानकारी लिँदै मुख्यमन्त्री भट्टले आवासको अभाव, जीविकोपार्जनको कठिनाइ तथा पुनःस्थापनासँग सम्बन्धित विषयलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। उहाँले मुक्त कमैयाको जीवनस्तरमा सुधार ल्याउने गरी सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो।

मुख्यमन्त्री भट्टले समस्या पहिचान गरेर मात्र नहुने भन्दै त्यसको दीर्घकालीन समाधानका लागि बजेट, नीति र कार्यान्वयनलाई एकैसाथ जोड्नुपर्ने धारणा राख्नुभयो। मुक्त कमैयाको आवास तथा आधारभूत आवश्यकतासँग सम्बन्धित विषय आगामी बजेटमा समेटेर समाधानको बाटो खोल्ने उहाँको भनाइ थियो।

भेटमा कृषि मन्त्री दमनबहादुर भण्डारी, भौतिक पूर्वाधार राज्यमन्त्री जानकीदेवी कुँवर, कृषि मन्त्रालयका कर्मचारी, नापी शाखा कैलालीका प्रमुख, मालपोत कार्यालय कैलालीका प्रमुखलगायत सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

मुक्त कमैयाका समस्या समाधानका लागि प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि भेटका क्रममा जोड दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *