दुई मन्त्रालयले पाए सचिव, सुदूरपश्चिम सरकारको प्रशासनिक कामले गति लिने अपेक्षा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका दुई महत्वपूर्ण मन्त्रालयमा सचिव पदस्थापन गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयमा संगीता ओझा र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पदमराज देवकोटालाई सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरेको हो।

लामो समयदेखि सचिव पद रिक्त रहँदा मन्त्रालयका नियमित प्रशासनिक कामसँगै योजना तथा बजेट निर्माण प्रक्रियामा समेत प्रभाव परेको थियो। नयाँ सचिवको पदस्थापनसँगै मन्त्रालयको प्रशासनिक नेतृत्व स्पष्ट हुनुका साथै रोकिएका कामले गति लिने प्रदेश सरकारको अपेक्षा छ।

विशेषगरी बजेट निर्माण, योजना कार्यान्वयन, प्रशासनिक निर्णय तथा मन्त्रालयअन्तर्गतका नियमित कामलाई प्रभावकारी रूपमा अघि बढाउन सचिवको भूमिका महत्वपूर्ण हुने भएकाले दुई मन्त्रालयमा भएको पदस्थापनलाई प्रशासनिक सक्रियता बढाउने कदमका रूपमा हेरिएको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा हुनुभएका उत्तमकुमार खत्री सोमबार प्रदेशमा उपस्थित भइसक्नुभएको छ। प्रमुख सचिवको आगमन र दुई महत्वपूर्ण मन्त्रालयमा सचिव पदस्थापन भएसँगै प्रदेश सरकारको प्रशासनिक संयन्त्र थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारका लागि अब बजेट निर्माणदेखि योजना कार्यान्वयनसम्मका प्रक्रियालाई समयमै अघि बढाउने र मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाउने चुनौतीसमेत रहेको छ। सचिव पदपूर्तिसँगै प्रशासनिक नेतृत्व बलियो बनेकाले सरकारको कार्यसम्पादनमा थप गति आउने अपेक्षा गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *