असोज ६ धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास, भूमि, जीविकोपार्जन तथा पुनःस्थापनासँग जोडिएका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने बताउनुभएको छ।
आवाससहित गास, बास र जीविकोपार्जनको सुनिश्चितताका लागि माग राख्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले लामो समयदेखि समाधान हुन नसकेका समस्या क्रमशः सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुख्यमन्त्री भट्टले मुक्त कमैया समुदायको समस्या केवल आवास निर्माणसँग मात्र सीमित नभई भूमि, रोजगारी, आयआर्जन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षासँग समेत जोडिएको विषय भएकाले सरोकारवाला निकायबीच समन्वय गरेर समाधानको बाटो अघि बढाइने बताउनुभयो। उहाँले वास्तविक लाभग्राहीको पहिचान गरी राज्यबाट उपलब्ध हुने सेवा, सुविधा र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा मुक्त कमैयाको जीवनस्तर सुधार र पुनःस्थापनालाई प्राथमिकताका साथ समेट्ने तयारी गरेको मुख्यमन्त्री भट्टको भनाइ छ। उहाँले विगतमा भएका निर्णय र प्रतिबद्धताको समीक्षा गर्दै बाँकी रहेका समस्या पहिचान गरी कार्यान्वयनमा जोड दिने बताउनुभयो।
मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारसँगै स्थानीय तह, भूमि तथा मालपोतसम्बन्धी निकाय र अन्य सरोकारवाला कार्यालयबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। विशेषगरी भूमि र आवाससँग सम्बन्धित विषयमा तथ्यांक अद्यावधिक गरी वास्तविक अवस्थाका आधारमा योजना बनाउनुपर्नेमा समेत जोड दिइएको छ।

भेटमा कृषि मन्त्री दमनबहादुर भण्डारी, भौतिक पूर्वाधार राज्यमन्त्री जानकीदेवी कुँवर, कृषि मन्त्रालयका कर्मचारी, नापी शाखा कैलालीका प्रमुख, मालपोत कार्यालय कैलालीका प्रमुखलगायत सम्बन्धित निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।
भेटपछि मुक्त कमैया समुदायका समस्या समाधानका लागि प्रदेश सरकारको प्रतिबद्धता कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ। लामो समयदेखि आवास, भूमि र रोजगारीसँग जोडिएका चुनौती सामना गर्दै आएका मुक्त कमैयाका लागि बजेटमा ठोस कार्यक्रम समेटिएमा पुनःस्थापनाको प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बन्ने देखिन्छ।
