जेरुसेलम, असोज १७ गते । बेलायत र अमेरिकामा यसै साता भएका दुई सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताबारे आशंका गरिएको छ। यद्यपि शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन।
बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य विमानस्थलनजिक आतंकवादी आक्रमणको तयारी गरेको आशंकामा बेलायती तथा इरानी नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अन्य पाँच जनालाई धरौटीमा रिहा गरिएको छ।
प्रहरीका अनुसार विमानस्थलनजिक रहेका केही गाडीबाट पेट्रोलजस्तो ज्वलनशील पदार्थ भेटिएको थियो। तर विस्फोटक पदार्थ भने फेला परेको छैन। इरानले घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै बेलायतसँग घटनाबारे औपचारिक जानकारी मागेको छ।
यसैबीच, इजरायलतर्फ जाँदै गरेको विमानको चालक कक्षमा भएको आक्रमणमा पनि इरानको सम्भावित सम्बन्धबारे चर्चा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानका सहचालकको इरानसँग सम्बन्ध हुन सक्ने संकेत गर्नुभएको छ।
तर घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूले अहिलेसम्म इरानसँग सम्बन्ध पुष्टि गर्ने प्रमाण फेला नपरेको बताएका छन्। दुवै घटनाको अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले वास्तविक कारण र सम्भावित संलग्नताबारे स्पष्ट निष्कर्ष आइसकेको छैन।
इरानको भूमिका पुष्टि भएमा क्षेत्रीय सुरक्षा अवस्थाबारे थप प्रश्न उठ्न सक्ने विश्लेषण गरिएको छ। अहिले दुवै घटनाबारे सम्बन्धित निकायले अनुसन्धान जारी राखेका छन्।
