हेमा भट्ट
५ बैशाख २०८२
धनगढी – देशको मेरुदण्ड मानिने पूर्व–पश्चिम राजमार्गको अवस्था आज पनि अत्यन्तै दयनीय छ। सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकीदेखि कैलालीको अत्तरिया हुँदै चिसापानी र कोहलपुर खण्डसम्मको यात्रा आज पनि जोखिमपूर्ण र पीडादायी छ।
सडकको चौडाइ अत्यन्तै कम छ, दिनप्रतिदिन बढ्दो सवारी चाप, जनसंख्या, शहर विस्तार, कृषि तथा औद्योगिक उत्पादनले यातायातको दवाव बढाएको छ, तर राजमार्गको स्तरोन्नति अझै प्राथमिकतामा परेको देखिँदैन।
आज शहरका भित्री सडकहरू ४ लेन, ६ लेनमा विस्तार भइरहेका छन्, बत्ती बलिरहेका छन्, रंगीन सडकहरू छन्, तर देशको मेरुदण्डको हालत भने टालाटुलीमा सीमित छ। यहाँ हरेक हप्ता २–३ वटा दुर्घटनाहरू नियमित जस्तै भइरहेका छन्। झलारी बजारजस्ता ठाउँमा पर्यटक नै दुर्घटनामा परिरहेका छन्।
स्थानीयको कटाक्ष: “माथि कोट, टाई, चस्मा – तल कट्टुमात्र!”
स्थानीयबासी खुलेर भन्न थालेका छन्, “राज्यको अनुहार कोट, टाई, चस्मा लगाएको देखिन्छ, तर खुट्टामा कट्टु मात्रै छ।” अर्थात् विकासको देखावटी आवरणमा भित्र भत्किएको यथार्थ लुकेको छ।
पहाडमा विकासको नाममा बनाइएका अस्पताल, तर गाउँ खाली!
आज पहाडका गाउँहरूमा सयौं सैयाका अस्पताल धमाधम बनिरहेका छन्, तर ती अस्पताल वरपर मान्छे नै छैनन्। गाउँ खाली छन्, बाटो छैन, बत्ती छैन, मान्छे छैन। पहाडमा जमिन छ, तर उपयोग हुने अवस्था छैन।
नीति कहाँ छ? समाधान कता?
सरकारले पहाडमा रहेको जमिनलाई “लोन योग्य” बनाउन सक्ने नीति ल्याउन जरुरी छ। कृषिमा लगानी गर्न सक्ने अवस्था बनाइएमा व्यापारी, किसान, मजदुरहरू फेरि पहाड फर्किन सक्छन्। यसले विदेश पलायन कम गर्नसक्नेछ र वास्तविक कृषि क्रान्ति सम्भव हुनसक्छ।
निष्कर्षमा
राज्यले साँचो अर्थमा जिम्मेवारी लिनुपर्ने समय यही हो। पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, पहाडी क्षेत्रमा जीवनयोग्य पूर्वाधार, र नीतिगत सुधार नहुँदासम्म ‘विकास’ शब्द केवल देखावटी साबित हुँदै जान्छ। अब जिम्मेवारी लिने कि अझै पनि चुप लाग्ने?