दूधको उचित मूल्य माग्दै रूपन्देहीका दुग्ध उत्पादक किसानहरूले सडकमा प्रदर्शन

१७ फागुन धनगढी
दूधको उचित मूल्य माग्दै रूपन्देहीका दुग्ध उत्पादक किसानहरूले सडकमा प्रदर्शन गरेका छन्।

बुटवलको राजमार्ग चौराहमा चक्काजाम गर्दै आन्दोलनमा उत्रिएका किसानहरूले कृषि मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

आफूहरूका समस्याप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरूले किसानका समस्या नबुझ्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

जिल्ला दुग्ध उत्पादक संघ रूपन्देहीको आयोजनामा सहकारीमा आबद्ध किसानहरू राजमार्ग चौराहामा जम्मा भएर चक्काजाम सुरू गरेपछि प्रहरीले तितरवितर तुल्याएको थियो।

चक्काजाम हटाउने क्रममा सडकमा बसेका महिलाहरूलाई प्रहरीले लछारपछार गरेपछि प्रहरी र किसानबीच केहीबेर घम्साघम्सी भयो।

दुग्ध उत्पादक किसानहरूले देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन्।

सोही क्रममा बिहीबार बुटवलमा दुई घन्टा चक्काजाम गर्ने कार्यक्रम पहिले नै तय गरेका थिए।

पूर्वनिर्धारित भए पनि सडकमा प्रदर्शन गर्दै चक्काजाम गर्न तम्सिएका किसानहरूलाई प्रहरीले तितरवितर पारिदिएपछि चक्काजाम भने हुन पाएन।

बिहान ११ बजेदेखि किसानहरूले प्रदर्शन गर्न सुरू गरेपछि प्रदर्शन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

एक घन्टासम्म शान्तिपूर्णरूपमा प्रदर्शन गरेका किसानहरू सडकमा बसेर चक्काजाम गर्न थालेपछि इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरूलाई सडकबाट हटाएको थियो।

जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष लेखनाथ पाण्डेले केन्द्रीय सर्कुलरअनुसार नै चक्काजामको कार्यक्रम गर्न लाग्दा प्रहरीले दमन गरेको आरोप लगाए।

सरकारले गरिब किसानको समस्याप्रति बेवास्ता गर्दै जाँदा किसानहरू पेशाबाट नै पलायन हुनुपर्ने अवस्था आएको उनले बताए।

दूध बिक्री गरेबापत करोडौं रुपैयाँ भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलित हुँदै आएका छन्। दूधको भुक्तानी पाउनुपर्ने भन्दै यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएका किसानहरूले बिहीबारदेखि सडक आन्दोलन सुरू गरेका हुन्।

संघका उपाध्यक्ष खिमलाल पाण्डेले दूधको भुक्तानी नपाउँदा गाई-भैंसीलाई दाना पानी खुवाउन र बैंकको ब्याज तिर्न कठिन हुँदै गुनासो गरे।

उनले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए।

पाण्डेका अनुसार रूपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान, लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूबाट गरी १० करोड भन्दा बढी भुक्तानी लिन बाँकी छ।

भुक्तानी माग गर्दा दुग्ध विकास संस्थान र निजी डेरी व्यवसायीहरूले विभिन्न कारण देखाइ दूध खरिद गर्न आनाकानी गर्ने, अघोषित मिल्क होलिडे गर्ने, आफूखुसी मूल्य तोक्ने लगायतका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसानहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply