कैलालीको गोदावरीमा छैन बालविवाह !

धनगढी साउन ४
कैलालीको गोदावरी नगरपालिका क्षेत्रबाट पछिल्लो आर्थिक वर्षमा प्रहरीमा एक मुद्दा पनि दर्ता नभएको पाइएको छ । गोदावरीको अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा आर्थिक वर्ष २०७९/०८० मा बालविवाहका दुई ओटा मुद्दा दर्ता भएकामा गत आर्थिक वर्ष २०८०/०८१ मा भने एउटा मुद्दा पनि दर्ता नभएको पाइएको हो ।

मालाखेती प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले नगर क्षेत्रमा बालविवाह भए नभएको भनेर यकिन रुपमा भन्न नसकिने बताउँदै आफूहरुकहाँ भने सो सम्बन्धी कुनै मुद्दा नपरेको बताए । ‘बालविवाह हुँदै नभाको भनेर त मैले नि भन्न सक्दैन, तर रिपोर्टिङ चै भएन हामीहरुकहाँ’, उनले भने । उनले बालविवाह सम्बन्धी भने समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना फैलाउने कार्य भइरहेको बताए । ‘हामीले बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौनजन्य अपराध न्यूनीकरणका लागि यी कुरालाई सँगै जोडेर प्रहरी गस्तिमा जाँदाखेरी छोटो कार्यक्रमका रुपमा मानिसहरुलाई भेला जम्मा गराई सचेतना फैलाउने काम गरिरहेका छौँ’, उनले भने ।

सुदूरपश्चिममा सञ्चालित निड्स नेपालको बालविवाह निवारण परियोजनाका संयोजक टेक विकले गोदावरीमा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयासहरु भइरहे पनि अझै बालविवाह घट्न नसकेको बताए । ‘समुदायमा जाँदा अहिले पनि बालविवाह भइरहेको पाइयो’, उनी भन्छन्, ‘अभिभावकको चेतनाको स्तर कम भएर हो कि अथवा अरु कारणले हो बालविवाह अझै भइरहेकै छ ।’

उनले बालविवाह निवारण परियोजना अन्तर्गत गोदावरीका ६ वडामा कार्यक्रम सञ्चालन भएको बताए । ‘हामीले तीन ओटा उद्देश्यका साथ काम गर्दैछौँ, एउटा किशोरी सशक्तिकरण अर्को अभिभावक र बालबालिकाहरुको बिचमा समन्वयात्मक भूमिका र अर्को चाहीँ बालविवाह न्यूनीकरणका लागि यस क्षेत्रका धार्मिक सामाजिक राजनीतिक व्यक्तित्वहरुलाई परिचालन गर्ने काम भएको छ’, उनले भने ।

संयोजक विकले किशोरी सशक्तिकरणका लागि किशोरी नै परिचालन गरिएको बताए । किशोरी सशक्तिकरणका निमित्त रुपान्तरण कक्षा चलाउने गरेको उनले बताए । त्यसैगरी अभिभावक र बालबालिकाबीच अन्तरसंवाद गराई बालविवाह हुनुका वा बालबालिकाले भागेर विवाह गर्नुका कारणहरु पहिल्याउने गरी कार्यक्रमहरु सञ्चालन गरिएको उनी बताउँछन् ।

पछिल्लो वर्ष गोदावरी नगरपालिकाका ६ ओटा वडामा परियोजना अन्तर्गत कार्यक्रमहरु गरिएको र अझै यी कार्यक्रमहरु सञ्चालन गर्ने तयारी भइरहेको उनी बताउँछन् । सरकारको २०३० सम्ममा बालविवाहमुक्त राष्ट्र बनाउने लक्ष्यलाई केन्द्रित गरेर सरकारलाई सहयोग पुग्ने गरी आफूहरुले काम गरिरहेको उनी बताउँछन् ।

यसरी प्रहरीमा घटना नपुगेका भए पनि बालविवाह भने भइनै रहेको पाइरहेको सम्बन्धित क्षेत्रमा काम गरिरहेकाहरु बताउँछन् । अभिभावकले बालविवाह नगराए पनि बालबालिकाहरु आफै भागेर विवाह गरिरहेको अवस्था भएकाले यसबारे उनीहरुलाई सजग गराउन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply