हेमा भट्ट
काठमाडौँ, २१ फागुन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश अन्तर्गतका प्रतिनिधिसभाका सबै १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। पार्टीले संगठनात्मक सन्तुलन, अनुभव र जनआधारलाई ध्यानमा राख्दै उम्मेदवार टुंगो लगाएको जनाएको छ।
पार्टीका अनुसार सुदूरपश्चिमको समग्र विकास, सामाजिक न्याय, सुशासन तथा राष्ट्रिय स्वाधीनताको मुद्दालाई केन्द्रमा राखेर उम्मेदवार चयन गरिएको हो। पहाडदेखि तराईसम्मका सबै क्षेत्र समेटिने गरी अनुभवी तथा जनतासँग नजिक रहेका नेताहरूलाई अघि सारिएको पार्टीको दाबी छ।
प्रतिनिधिसभा उम्मेदवारहरू यसप्रकार छन् :
अछाम–१ बाट डा. भीम रावल र अछाम–२ बाट शरदसिंह भण्डारी चयन भएका छन्। कञ्चनपुर–१ बाट बीना मगर, कञ्चनपुर–२ बाट लालबहादुर खड्डा र कञ्चनपुर–३ बाट मानबहादुर सुनार उम्मेदवार बनेका छन्।
कैलाली–१ बाट रामलाल डंगैरा, कैलाली–२ बाट नन्दबहादुर साँउद, कैलाली–३ बाट वीरमान चौधरी, कैलाली–४ बाट हरिराम चौधरी र कैलाली–५ बाट प्रेम आले उम्मेदवार चयन भएका छन्।
यस्तै, बाजुराबाट प्रकाशबहादुर शाह, डोटीबाट त्रिलोचन भट्ट, बैतडीबाट परमानन्द भट्ट, डडेल्धुराबाट मानसिंह माल, बझाङबाट मिनबहादुर कुँवर तथा दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार रहेका छन्।
पार्टी नेतृत्वले उम्मेदवार चयनसँगै सुदूरपश्चिममा चुनावी अभियानलाई तीव्र बनाउने तयारी थालेको छ। नेकपाले जनमुखी विकास, रोजगारी सिर्जना र क्षेत्रीय असमानता अन्त्यलाई प्रमुख एजेन्डा बनाएर निर्वाचनमा होमिने जनाएको छ।
